काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फ)का पूर्व अध्यक्ष गणेश थापा एएफसी एसिया कप छनोट खेलेर स्वदेश फर्किएको राष्ट्रिय फुटबल टोलीको स्वगतका लागि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिए ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्धबाट फुकुवा भएपछि फुटबलका विभिन्न कार्यक्रममा देखिन थालेका थापा टिमको स्वागत गर्न विमानस्थल भने पहिलो पटक पुगेका हुन् ।
भियतनामसँग दुई खेल खेलेर बिहीबार नेपाल आइपुगेको टोलीलाई थापासहित एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, केन्द्रिय सदस्य रविन्द्र चन्द, रुपेश अधिकारी र प्रवक्ता सुरेश शाहलगातयले स्वागत गरेका थिए ।
भ्रष्टाचारको आरोपमा फिफाले थापामाथि लगाएको प्रतिबन्ध गत वैशाख २ गते सकिएको थियो । प्रतिबन्धकालमा थापा कुनै पनि संगठित फुटबलमा संलग्न हुन पाउँदैनथे ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान थापाले एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ)को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष तथा फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।