काठमाडौं । एसियन एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो अन्तिम खेलमा जापानमाथि आठ विकेटको सहज जित हासिल गर्दै संयुक्त अरब इमिरेट्स(युएई)ले अर्को वर्ष हुने ट्वान्टी–२० विश्वकपमा स्थान पक्का गरेको छ ।
बिहीबार अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा जापानले प्रस्तुत गरेको ११६ को सामान्य लक्ष्य युएईले १२.१ ओभरमा पूरा गर्यो ।
जितसँगै पाँच खेलमा ६ अंक जोडेको युएईले अंकतालिकाको दोस्रो स्थानमा उक्लिँदै विश्वकपको ढोका खोलेको हो ।
यो नतिजासँगै विश्वकपमा छनोट हुने तीन टोलीको टुंगो लागेको छ । बुधबार नेपाल र ओमानले विश्वकपमा स्थान बनाएका थिए । युएईको जितसँगै कतार, जापान र सामाओको विश्वकप पुग्ने चुनौती समाप्त भएको छ ।
बुधबार अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपालले प्रस्तुत गरेको १५२ रनको लक्ष्य ओमानले भेट्टाउन सकेन ।
लगातार दोस्रो पटक टी(२० विश्वकपमा स्थान बनाएको नेपालले एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा ओमानमाथि ३८ रनको जित हासिल गरेको छ ।