काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले खेल्ने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सिक्किमबाट सिलोङमा सारिएको छ ।
यसअघि नेपाली टोलीले भारतसँग सिक्किममा खेल्ने तय थियो । अब इरान पनि थपिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार फिफा विन्डोअन्तर्गत नेपाली टोलीले कार्तिक ७ मा इरान तथा कार्तिक १० मा भारतसँग खेल्नेछ ।
फिफा वरियतामा भारत ६३, इरान ७० तथा नेपाल ८९औं स्थानमा छन् । नेपालले एएफसी एसियन कप छनोट खेलेयता कुनै खेल खेलेको छैन ।
नेपाली टोलीको नयाँ मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । न्यौपानेले भर्खरै मात्र उज्वेकिस्तानमा सम्पन्न एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाली युवा टोलीको नेतृत्व गरेका थिए ।
न्यौपानेले बेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइल्डको स्थान लिएका हुन् । वाइल्डले उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियन कप छनोट प्रतियोगितामा टोलीको नेतृत्व गरेका थिए । तर, एन्फाको व्यवस्थापनप्रति असन्तुष्टि जनाएका वाइल्डले प्रतियोगिता सकिएको केही हप्तापछि एन्फालाई राजीनामा पत्र पठाएका थिए ।