काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणका खेलका लागि भियतनाम जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाई भएको छ ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित आफ्नो मुख्यालयमा एक कार्यक्रमबीच टोलीलाई बिदाई गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा टोलीलाई एन्फा कार्यबाहक महासचिव दामोदर भट्टराई (बद्री), केन्द्रीय सदस्यहरु पुरुर्षोत्तम थापा र सरीला श्रेष्ठले बिदाई गरेका थिए ।
समूह ‘एफ’मा रहेको नेपालले अक्टोबर ९ र १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने तालिका छ । अक्टोबर १४ मा हुने दोस्रो लेग खासमा नेपालमा हुनुपर्ने थियो । तर, भौतिक पूर्वाधारहरुमा देखिएको कमजोरी र खतराका कारण दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले यो अवसर गुमाएको हो ।
पछिल्लो खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर लाओसविरुद्ध २-१ को दूर्भाग्यजनक हार बेहोरेको थियो । त्यसअघि मलेसियाले नेपाललाई २–० ले हराएको थियो । लगातार दोस्रो हारसँगै नेपाल हाल अंकतालिकाको पुछारमा छ ।
समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणको टिकट काट्ने सेट-अप छ । भियतनामविरुद्धको पहिलो लेगमा पराजय बेहोरे नेपालको एसियन कप पुग्ने चुनौती सकिनेछ ।
टोली मंगलबार बिहान १० बजे भियतनाम प्रस्थान गर्ने तालिका छ ।
नेपाली टोलीः
किरण कुमार लिम्बू, विशाल सुनार, दीप कार्की, सुमन श्रेष्ठ, अनन्त तामाङ, अभिषेक लिम्बू, रोहित चन्द, सनीश श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ, विमल पाण्डे, मणिकुमार लामा, रोहन कार्की, एरिक विष्ट, कुशल देउवा, कृतिशरत्न छुन्जु, आयुष घलान, मनिष डाँगी, दीनेश हेन्जन, लाकेन लिम्बू, सुवास वम, अञ्जन विष्ट, जिलेश्पीजंग कार्की