काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले नेपालको फुटबल पिरामिड भित्र रहेको व्यावसायिक क्लब किन्ने इच्छा देखाएका छन् ।
नेपाली मूलका अमेरिकन नागरिक हुमागाईंले सोमबार टेक्सास, इर्भिङस्थित पिक रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै नेपालको डिभिजन फुटबलमा आफ्नै क्लबले प्रतिनिधित्व गर्न चाहेको बताएका हुन् ।
‘नेपालको ए, बी र सी डिभिजन क्लब कुनै बिक्रीमा भए अर्कौ वर्ष नै मैले किन्ने योजना बनाएको छु,’ हुमागाईंले भने, ‘क्लब किन्ने वातावरण नभए सी डिभिजन लिग छनोट प्रतियोगिता खेल्न टोली तयार गर्नेछु ।’
हुमागाईंले सम्मेलनमार्फत सेप्टेम्बर १२ मा आधिकारिक रुपमा नयाँ क्लबको उद्घाटन गर्ने बताए । उनको योजनाअनुसार यस नयाँ क्लबले नेपाल र अमेरिका दुबै देशमा प्रतिस्पर्धा गर्नेछ ।
हुमागाईंले बताए अनुसार नयाँ क्लब इङ्लिस प्रिमियर लिग (इपिएल) क्लब वेस्ट ह्याम युनाइटेडको मातहतमा हुनेछ । क्लबले ग्रासरुट फुटबलमा बढी ध्यान केन्द्रित गर्ने उनले दाबी गरे ।
‘अहिले क्लबमा कूल ७२ जना खेलाडी प्रशिक्षणमा छन् । हामीसँग आफ्नै प्रशिक्षण मैदान छ,’ हुमागाईंले भने, ‘हामीले नयाँ क्लबको उद्घाटन गर्ने दिन नै प्रशिक्षण मैदान आधिकारिक रुपमा खुलाउने छौं । २०२६ देखि क्लबले विभिन्न उमेर समूहका प्रतियोगितामा सहभागिता जनाउने छ ।’
फिफा ‘प्रो–लाइसेन्स’ प्रशिक्षक हुमागाईंले गत वर्ष अमेरिकाको नागरिकता त्यागेर स्थायी रुपमा नेपाल आएको बताएका थिए । अहिले भने उनले फेरि अमेरिकन नागरिकका रुपमा आफूलाई प्रस्तुत गरेका छन् ।
तीन वर्षअघि दशरथ रंगशालामा सम्पन्न बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमा हुमागाईंले राष्ट्रिय टोलीको टचलाइन सम्हालेका थिए । पछिल्लो समय हुमागाईंले नेपाली राष्ट्रिय महिला टोलीको जिम्मेवारी लिने हल्ला चलेको थियो ।