काठमाडौं । इटालियन क्लब युभेन्ट्सले फिफा क्लब विश्वकपको आफ्नो पहिलो खेलमा युएईको अल अइनविरुद्ध ५-० को सानदार जित दर्ता गरेको छ ।
जितसँगै युभेन्टसले समूह ‘जी’ मा तीन अंक जोडेको छ ।
अमेरिकाको अडी फिल्डमा बिहीबार युभेन्टसलाई जित दिलाउन रान्डल कोलो मुआनी र फ्रान्सिस्को कोन्सेकाओले समान दुई तथा केनान यिल्डिजले एक गोल गरे ।
खेलको ११औं मिनेटमा कोलो मुआनीको गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो । उनले अल्बर्टो कोस्टको पासलाई पोस्टको दिशा दिए ।
त्यसको १० मिनेटपछि नै कोन्सेकाओले टोलीको अग्रता दोब्बर बनाए । यस पटक पनि कोस्टाले नै गोलको अवसर सिर्जना गरेका थिए ।
यिल्डिजले ३१औं मिनेटमा गोल गर्दा युभेन्टसकाे अग्रता ३-० मा पुग्यो । उनले खेफ्रेन थुरमको पासलाई सदुपयोग गरे ।
पहिलो हाफको इन्जुरी समयमा कोलो मुआनीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । यो गोलका लागि पनि थुरमले नै बल उपलब्ध गराएका थिए ।
कोन्सेकाओले ५८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा युभेन्टसले ५-० को फराकिलो अग्रता लियो । उनले पियरे कालुलुको पासलाई जाली चुमाए ।
यही समूहको अर्को खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले मोरोक्कोको वायडाड एसीविरुद्ध २-० को जित निकाल्यो ।