काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिड फिफा क्लब विश्वकपको आफ्नो पहिलो खेलमा साउदी अरेबियन क्लब अल हिलालसँग १-१ को बराबरीमा रोकिएको छ ।
यो नतिजासँगै समूह ‘ए’ का दुवै टोलीले समान एक अंक जोडेका छन् ।
बुधबार अमेरिकाको हार्ड रक रंगशालामा रियालका लागि गोन्जालो गार्सिया र अल हिलालका लागि रुबेन नेभेसले गोल गरे ।
खेलको३४औं मिनेटमा गार्सियाको गोलमार्फत रियालले अग्रता लिएको थियो । उनले रोड्रिगोको पासलाई पोस्टको दिशा दिए ।
रियालको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । सात मिनेटपछि नै नेभेसले पेनाल्टीमार्फत अल हिलालाई बराबरीमा ल्याए ।
रियालका रक्षक राउल असेन्सियो बक्स भित्र मार्कोस लियान्द्रोमाथि फउल गरेपछि अल हिलाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।
इन्जुरी समयमा फेडेरिको भाल्भर्डे पेनाल्टीमा चुक्दा रियाल स्पष्ट तीन अंक जोड्नबाट बञ्चित भयो ।
अल हिलालका मिडफिल्डर मोहम्मद अल काहतानीले बक्स भित्र फरान गार्सियामाथि फउल गरेपछि भिएआरको मद्दतले रियाललाई पेनाल्टी अवसर प्रदान गरिएको थियो । तर भाल्भर्डेको प्रहारलाई गोलकिपर यासिन बोनोले बचाउँदै टाेलीको संकट टारे ।
यही समूहको अर्को खेलमा अस्ट्रियन क्लब रेडबुल साल्जबर्गले मेक्सिकन क्लब पाचुकाविरुद्ध २१ को रोमाञ्चक जित दर्ता गर्यो ।