काठमाडौं । अन्तिम समयको गोलले पोर्चुगिज क्लब बेन्फिकाले फिफा क्लब विश्वकपमा मंगलबार अर्जेन्टिनाको बोका जुनियरलाई २-२ को बराबरीमा रोकेको छ ।
यो नजितासँगै समूह ‘सी’ का दुवै टोलीले एक अंक बाँडेका छन् ।
अमेरिकाको हार्ड रक रंगशालामा बेन्फिकाका लागि एन्जल डी मारिया र निकोलस ओटामेन्डीले गोल गरे । बोका जुनियरका लागि मिगुएल मेरेन्टिल र रोड्रिगो बटाग्लियाले गोल गरे ।
खेलको २१औं मिनेटमा मेरिन्टिलको गोलमार्फत बोका जुनियरले अग्रता लिएको थियो । ६ मिनेटपछि नै बटाग्लियाले टोलीको अग्रता दोब्बर बनाए ।
एन्डर हेरेराले ४५औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडेपछि बोका जुनियर १० खेलाडीमा समेटियो । डी मारियाले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत बेन्फिकाका लागि पहिलो गोल फर्काए ।
एन्ड्रिया बेलोटीले ७२औं मिनेटमा रातो कार्डको सामना गरेपछि बेन्फिका पनि १० खेलाडीमा समेटिएको थियो । ८४औं मिनेटान ओटामेन्डीले बेन्फिकालाई २-२ को बराबरीमा ल्याए ।
निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा जर्ज फिगलले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि बोका जुनियरले केही मिनेट ९ खेलाडीमा सीमित भएर खेल्नु परेको थियो ।