काठमाडौं । साउन अन्तिम सातादेखि सुरु हुने एन्फा राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा १६ क्लब दर्ता भएका छन् ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनोटमा सहभागिता जनाउने १६ टोलीको नाम सार्वजनिक गरेको हो ।
एन्फाले सार्वजनिक गरेको क्लबरूको सूचीमा बुटवल लुम्बिनी एफसी, छहरी युवा कलब, चित्लाङ एफसी, चर्च ब्वाइज युनाइटेड एफसी, एफसी रियल, झापा एफसी, कन्काई खेलकुद प्रतिस्थान, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर, नेपाल बेस्ट म्यानेजमेन्ट, नेपाल खेलकुद क्लब, न्युरोड टिम (एनआरटी), राप्ती एफसी, आरएस रिसोर्ट एन्ड वीच फुटबल, संकटा एफसी, सिन्धुपाल्चोक एफसी र स्टुडेन्ट एफसी छन् । यीमध्ये संकटाले अघिल्लो संस्करणको राष्ट्रिय महिला लिग खेलेको थियो ।
सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिने छ । राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि हरेक समूहका शीर्ष टोलीले सीधैं फाइनल चरण अर्थात राष्ट्रिय महिला लिगमा स्थान बनाउने छन् ।
त्यस्तै दोस्रो स्थानमा रहने टोलीबीच पुनः राउन्ड रोविन पद्धत्तिमा प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष स्थानको टोलीले फाइनल चरणमा स्थान बनाउने छ ।
अघिल्लो संस्करण तीन विभागीय टोलीः नेपाल एपिएफ एफसी, त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबसँगै वालिङ नगरपालिका र बागमती युवा क्लबले लिगको सुपर स्टेजमा स्थान बनाएका थिए । यी टोलीले यसपाली सोझै फाइनल चरण खेल्नेछन् । छनोटबाट आएका पाँच टोलीसहित कूल १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
गत वर्ष कर्णाली प्रदेशको सुर्खेत जिल्लामा सम्पन्न छनोट प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाएका थिए । वैशाख ७ देखि २० गतेसम्म सम्पन्न छनोट प्रतियोगितामा कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशले फाइनल चरणमा स्थान पक्का गरेका थिए ।
सुर्खेतमा त्यतिबेला केही शीर्ष स्तरका खेलाडीले प्रदेशको जर्सी लगाएका थिए । यसपालि पनि फाइनल चरण पुगिसकेका टोलीबाट रिलीज भए उनीहरूले छनोट खेल्न पाउने एन्फाले जनाएको छ ।
‘यदि फाइनल चरणमा स्थान बनाइसकेका क्लबले आफ्ना खेलाडीलाई रिलीज गर्छन् भने उनीहरूले छनोट प्रतियोगितामा कुनै पनि क्लबबाट खेल्न पाउनेछ,’ एन्फाका प्रवक्ता सुरेश शाहले खेलाडी डटकमसँग भने ।
छनोट प्रतियोगिताका लागि असार २० गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्नुपर्ने तय भएको छ । एन्फाले खेल तालिका साउन १६ गते सार्वजनिक गरिने जनाएको छ ।