ललितपुर । गोदावरी नगरपालिका वडा नं १२ को आयोजनामा अन्तरविद्यालय वडा अध्यक्ष फुटबल कपको दोस्रो संस्करण बिहीबारबाट सुरु हुने भएको छ ।
गोदावरी–१२ स्थित दुरिखेल मैदानमा हुने प्रतियोगितामा वडाभित्रका विद्यालयबीच प्रतिस्पर्धा हुनेछ । छात्र/छत्रा दुवै विधामा हुन लागेको प्रतियोगितामा सरस्वती मा.वि., सेन्ट पल मा.वि., बाल अंकुर मा.वि., इन्द्रेणी मा.वि., दीपमाला मा.वि, लिटिल स्टार मा.वि., एकता एकेडेमी, थेच्व नेवा इङ्लिस स्कुल र सोमाङ एकेडेमीको सहभागिता छ । यीमध्ये सेन्ट पलले छात्रमा मात्र प्रतिस्पर्धा गर्नेछ ।
छात्रतर्फ सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सरस्वती, सेन्ट पल, बाल अंकुर, इन्द्रेणी र दीपमाला तथा समूह ‘बी’मा साबिक विजेता सोमाङ, लिट्टल स्टार, एकता र थेच्व नेवा छन् ।
यसैगरी छात्रातर्फ पनि सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा इन्द्रेणी, एकता, सोमाङ र सरस्वती तथा समूह ‘बी’मा दीपमाला, बाल अंकुर, लिटिल स्टार र थेच्व नेवाले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।
लिग कम नकआउट पद्धतिमा हुन लागेको प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
दुवैतर्फका विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडलसहित प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताएको छ । ९ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल जेठ २४ गते हुनेछ ।
वडा भित्रका बाल-बालिकालाई खेलकुदप्रति लगाव बढाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।
‘यस प्रतियोगिताले आउने पुस्तालाई खेलकुदप्रति लगाव बढाउन मद्दत गर्नेछ । ग्रासरुट फुटबलमा पनि यो प्रतियोगिताले प्रत्यक्ष रूपमा सहयोग गर्ने विश्वास लिएका छौं,’ प्रतियोगिता संयोजक सन्तोष महर्जनले खेलाडी डटकमसँग भने ।
प्रतियोगिताको उद्घाटन खेलमा छात्रातर्फ इन्द्रेणी र एकताबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान ८ बजे सुरु हुनेछ ।