काठमाडौं । शीर्ष डिभिजनमा उक्लिइसकेको श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा सरस्वती युवा क्लबसँग ३-२ को हार बेहोरेको छ ।
पहिलो हारसँगै १३ खेलमा २६ अंक जोडेको भगवतीले दोस्रो स्थानमा रहेर लिग सक्काएको छ । जित निकालेको सरस्वती समान खेलबाट १८ अंकका साथ पाँचौं स्थानमा रह्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सरस्वतीलाई जित दिलाउन नर्बु तामाङ, सविनकुमार लुंगेलीमगर र नरेशकुमार खत्रीले गोल गरे । भगवतीका लागि दुवै गोल विक्रान्तनरसिंह रानाले गरे ।

पहिलो हाफको इन्जुरी समयमा विक्रान्तले गोल गर्दै भगवतीलाई अग्रता लिएका थिए । ७३औं मिनेटमा नर्बुले सरस्वतीका लागि बराबरी गोल गरे ।
विक्रान्तले ७९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा भगवती २-१ ले अगाडि बढ्यो । खेलको इन्जुरी समयमा सविनले पेनाल्टीमार्फत नै सरस्वतीलाई २-२ को बराबरीमा ल्याए ।
इन्जुरी समयमै नरेशले गोल गर्दै सरस्वतीलाई रोमाञ्चक जित दिलाए ।