काठमाडौं । खेलमा अन्तिम सिट्ठी बजेपछि रुबेन एमोरिम बिस्तारै मैदानभित्र छिरे । विजयी टिमका खेलाडीलाई बधाई दिए । विजयी प्रशिक्षक आन्ज पोस्टेकोग्लुसँग हात मिलाए, अंकमाल गरे ।
त्यसपछि एमोरिम पराजित खेलाडी भएतिर आए । एक एक गर्दै सबैलाई भेटे । म्यानचेस्टर युनाइटेडका हरेक खेलाडी अवश्य पनि पीडामा थिए । प्रशिक्षकसँग हात मिलाउँदा, अँगालो हाल्दा उनीहरुको मुहारमा निराशा प्रस्ट देखिन्थ्यो । उनीहरु कोही पनि यस्तो मनस्थितिमा थिएनन् जहाँ उनीहरुले भन्न सकुन, ‘फाइनल यस्तै भयो, हारियो ।’
किनभने यो पूरै सिजन युनाइटेडले आधा शताब्दी यताकै सबैभन्दा खराब खेलेको छ । यस्तोमा कुरा युरोपा लिग फाइनलको मात्र होइन ।

जब एमोरिम कासिमिरो भएको ठाउँमा पुगे, तब उनले कासिमिरोको घाँटीको पछाडि समाते । कासिमिरोले एमोरिमसँग आँखा जुधाएनन् । बरु भुइँतिर हेरिरहे । सायद उनी सोच्दै थिए, पाँच पटक च्याम्पियन्स लिग जितेको म आज आएर युरोपाको फाइनल हार्नु पर्यो ।
खेल सकिइसक्दा पनि सायद मग्वायरमा टोटनहमका कप्तान क्रिस्टियन रोमेरोप्रतिको रोष बाँकी नै थियो । खेल सकिएपछि हात मिलाउन आएका रोमेरोलाई उनले बेवास्ता गरे ।
उता ह्यारी मग्वायरले चाहिँ नजर झुकाएनन् । एमोरिमले उनीसँग हात जुधाए, छातीमा धाप मारे र अघि बढे । मग्वायरले पहिलो पटक युरोपा फाइनल खेलेका हुन् । सन् २०२१ को फाइनल जित्दा युनाइटेडको टिममा उनी चोटका कारण उपस्थित थिएनन ।
२४ घण्टा अगाडि मग्वायर भन्दै थिए, ‘म यो खेलमा युनाइटेड पछि परेको हेर्न चाहदिनँ । गोल खाएपछिको हस्याङफस्याङमा फस्नु छैन ।’ तर यो खेलमा उनको टिमले टोटनहमलाई पछ्याउनै पर्ने स्थिति बन्यो ।

खेल सकिइसक्दा पनि सायद मग्वायरमा टोटनहमका कप्तान क्रिस्टियन रोमेरोप्रतिको रोष बाँकी नै थियो । खेल सकिएपछि हात मिलाउन आएका रोमेरोलाई उनले बेवास्ता गरे । जब रोमेरो अघि बढेर डिएगो डालोटसँग अंकमाल गर्दै थिए, तब मग्वायर एक्कासी आक्रोशित हुँदै त्यहाँ पुगेका थिए ।
खेल दौरान रोमेरोविरुद्धको फाउलका कारण पहेलो कार्ड खाएपछि मग्वायरलाई रिसाएका थिए । खेल सकिएपछि पनि मग्वायर रोमेरोलाई देखेर भड्किनुको कारण त्यही पहेलो कार्ड थियो ।
खेलभर एमोरिम बेचैन देखिन्थे । एक समय उनी एमाद छेउमा पुगे । तर उनले ती युवा विंगरलाई केही भनेनन् ।
खासमा मग्वायर र रोमेरो बल हेड गर्न एकैपल्ट उफ्रिनु, सामान्य जस्तो देखिएको फाउलमा रोमेरो धेरैबेरसम्म मैदानबाट नउठ्नु, सम्भवतः खेल कथाको सार थियो । गोल गरेपछि रक्षात्मक रणनीतिमा खेलेको टोटनहम हर हालतमा युनाइटेडलाई उद्वेलित बनाउन चाहन्थ्यो । प्रिमियर लिगमा आफ्नो टिमलाई आक्रामक रणनीतिमा खेलाउने पोस्टेकोग्लु युरोपमा भने फरक अन्दाजमा थिए । उनको उदेश्य थियो, जसरी पनि जित । यसका लागि रक्षात्मक रणनीति नै अपनाउन किन नपरोस् ।

उता एमोरिमका लागि भविष्य महत्त्वपूर्ण थियो । तब त उनी खेल र खेलाडीको क्षमता एवम प्रकृति अनुसारको रणनीति नबनाई आफ्नो योजनामा अडिग रहे । उनले पोर्चुगलमा रहँदा प्रयोग गरेको ३-४-२-१ संरचनालाई युनाइटेडमा निरन्तरता दिए । परिस्थिति जस्तोसुकै आए पनि उनी आफ्नो खेल सिद्दान्तबाट पछि हटेका छैनन् । फाइनलमा गोल खाएपछि पनि उनको रणनीति बदलिएन । सम्भवतः विपक्षीको प्रदर्शनलाई केलाएर आफ्नो रणनीति परिवर्तन नगर्दा नै युनाइटेड भुत्ते देखिएको थियो ।
खेलभर एमोरिम बेचैन देखिन्थे । एक समय उनी एमाद छेउमा पुगे । तर उनले ती युवा विंगरलाई केही भनेनन् । बरु पानीको बोतल टिपे र ब्रुनो फर्नान्डेज भएतिर आए । युनाइटेडको खराब लय जारी रहँदा फर्नान्डेजले भने हरेक खेलमा ठिकठाक खेल्ने गरेका छन् । कयौँ खेलमा उनले आफ्नो बलबुतामा युनाइटेडलाई अंक दिलाएका छन् । तर यो खेलमा उनले त्यसो गर्न सकेनन् । धेरै पटक खराब पास खेले, विपक्षीलाई बल खोसाए । मिडफिल्डमा उनले मिसपास खेलेकै कारण टोटनहमका पापे सार बल लिएर युनाइटेडको बक्सतिर दौडिन सम्भव भएको थियो । अन्ततः सारले निकालेको क्रसमा गोल भएको थियो ।
ओल्ड ट्राफोर्डमा एथ्लेटिक बिल्बाओसँगको खेलमा गोलका कयौँ अवसर खेर फालेकाले गार्नोचोलाई सरुआती एघारमा नराखेको एमोरिमको भनाई थियो ।
आगामी सिजन युनाइटेडले च्याम्पियन्स लिग खेल्न नपाउनुको अर्थ फर्नान्डेजका लागि के होला ? प्रश्न उठिरहेको छ । के उनी अन्ततः युनाइटेड करियर टुंग्याउने मनस्थितिमा पुग्लान् ? किनभने उनलाई साउदी अरबको अल हिलालबाट तारन्तार प्रस्ताव आइरहेको बताइन्छ । टोटनहमसँगको पराजयपछि उनका एजेन्टले सामाजिक संजालमा गरेको पोस्टले केही न केही त संकेत गर्छ । ‘जीन्दगीमा कहिलेकाहिँ अन्याय पनि हुन्छ । तिमी योभन्दा उत्तम स्थितिको लायक हौँ,’ मिगेल पिन्होले इन्स्टाग्राममा ब्रुनोको लागि लेखेका छन् ।

‘हेर्नुस्, म सधैँ मनमा लागेको कुरा भन्छु । यदि क्लब मलाई बेचेर आम्दानी गर्न चाहन्छ भने मलाई केही आपत्ति छैन । यो फुटबल हो, यस्तो हुन्छ,’ कप्तान फर्नान्डेजले खेलपछि पत्रकारहरुसँग भने, ‘जबसम्म क्लब चाहन्छ, तबसम्म म यहाँ रहन तयार छु । म यो क्लबमा खुसीका दिन फर्काउन हरसम्भव मेहनत गर्नेछु । तर सबैकुरा क्लबमा निर्भर रहनेछ । क्लब प्रशासन के चाहन्छ, मेरो भविष्य त्यही अनुसारले अघि बढ्नेछ ।’
उता अलेहान्द्रो गार्नोचोका दाइले सामाजिक संजालमार्फत सन्देश दिन खोजे । आफ्नो भाइले पूरा खेल खेल्न नपाएकोमा उनको असन्तुष्टि थियो । ‘फेरि पनि हारको कारण उसलाई बनाउन खोजिँदैछ,’ रोबर्टो गार्नोचोले इन्स्टाग्राममा लेखेका छन् ।
गार्नोचोलाई उपाधि भिडन्तमा सुरुबाटै नखेलाएकोमा प्रशिक्षक एमोरिमले प्रष्टिकरण दिएका छन् । ओल्ड ट्राफोर्डमा एथ्लेटिक बिल्बाओसँगको खेलमा गोलका कयौँ अवसर खेर फालेकाले गार्नोचोलाई सरुआती एघारमा नराखेको एमोरिमको भनाई थियो ।
पोर्चुगलमा इज्जत कमाएर इङ्ल्यान्ड पसेका एमोरिमको क्षमतामाथि अवश्य पनि प्रश्न उठेको छ ।
‘यो सिजन हामी सबैका लागि खराब रह्यो । लिगमा हामीले कसैलाई जित्न सकेका छैनौँ, यो सत्य हो । तर आजको यो फाइनलसम्म आइपुग्दा मैले हरेक चरणमा खेलेको छु । आज चाहिँ २० मिनेट मात्र खेल्न पाएँ । के भन्ने खोई । अब के हुन्छ मलाई थाहा छैन,’ गार्नोचोले युनाइटेडबाट बाहिरिने सम्भावना व्यक्त गरे ।

क्वार्टरफाइनलमा लियोनलाई पन्छाउँदा युनाइटेडका लागि महत्त्वपूर्ण खेलाडी बनेका थिए, कोबी मैनु । टोटनहमसँगको फाइनलमा भने उनलाई ९० मिनेटपछि मात्र मौका दिइयो । गार्नोचो जस्तै युनाइटेड एकेडेमीका उत्पादन मैनुको पनि भविष्य अन्योलमा छ । यी दुवै खेलाडीलाई बढीभन्दा बढी मूल्यमा बेच्ने योजनामा युनाइटेड रहेको बताइँदैछ ।
को खेलाडीलाई बेच्ने, कतिसम्ममा बेच्ने, लगायतका निर्णयमा सर जिम राटक्लिफ सहभागी हुनेछन् । युरोपा लिगको फाइनलपछि खेलाडीलाई पदक बाँड्ने अतिथिको लाइनमा उनी पनि थिए । युनाइटेडका खेलाडी, प्रशिक्षकलाई उपविजेताको पदक दिँदैगर्दा उनको भेट एमोरिमसँग भयो । उनले आफ्नो क्लबका प्रशिक्षकलाई टेलिभिजन क्यामराका अगाडि अंकमाल गरे ।
‘यदि क्लब प्रशासन र समर्थकलाई म यो क्लब अघि बढाउन सही छनोट होइन भन्ने लाग्छ भने म बाहिरन तयार छु । मलाई कुनै क्षतिपूर्ति पनि चाहिदैनँ । म सजिलै आफ्नो बाटो तताउनेछु । तर मलाई आफ्नो क्षमतामा विश्वास छ । र यो पनि भनिहालौँ, युनाइटेडमा रहरिहेँ भने म आफ्नो शैली परिवर्तन गर्नेवाला छैन,’ एमोरिमको भनाई थियो ।
युरोपा लिगको यो नतिजापछि च्याम्पियन्स लिग छनोट र त्यहाँ खेल्दा हुने कमाईबाट वञ्चित भएपछि युनाइटेड फेरि एकपल्ट खर्च कटौतिमा केन्द्रित हुने पक्का छ ।
पोर्चुगलमा इज्जत कमाएर इङ्ल्यान्ड पसेका एमोरिमको क्षमतामाथि अवश्य पनि प्रश्न उठेको छ । तर युनाइटेड प्रशासनले बारम्बार एमोरिमलाई बर्खास्त नगरिने प्रस्ट पारेको छ । यदि पोर्चुगाली प्रशिक्षकलाई निरन्तरता दिने हो भने, आगामी खेलाडी सरुवा बजारमा यस्ता खेलाडी अनुबन्धन गरिन जरुरी छ, जसले उनले भने अनुसार खेल्न सकुन् ।

यहीबीचमा युनाइटेडले प्रयास थालेको छ, एमोरिमको चाहना अनुसारका खेलाडी अनुबन्ध गर्न । उल्भरह्याम्पटनका ब्राजिली फरवार्ड माटिएस कुन्हा युनाइटेडको नयाँ खेलाडी बन्ने लगभग पक्का भइसकेको छ । रेलिगेट भएको इप्सिविचका लियाम डेलाप अर्का खेलाडी हुन्, जोसँग युनाइटेडको कुराकानी चलिरहेको छ ।
म्यानचेस्टरमै टिभीमा युरोपा फाइनल हेरिरहेका युनाइटेड क्लब प्रशासनका कर्मचारी हारले क्लबको वित्तीय अवस्थामा असर पुर्याउनेमा चिन्तित थिए । गत फेब्रुअरीमा युनाइटेडका कार्यकारी अधिकृत ओमार बेरादाले युरोपा लिगमा क्लबले प्राप्त गर्ने नतिजाका आधारमा कतिपय आर्थिक निर्णय गरिने बताएका थिए । युरोपा लिगको यो नतिजापछि च्याम्पियन्स लिग छनोट र त्यहाँ खेल्दा हुने कमाईबाट वञ्चित भएपछि युनाइटेड फेरि एकपल्ट खर्च कटौतिमा केन्द्रित हुने पक्का छ ।
बिल्बाओको सेन्ट मामेसमा धेरैजसो युनाइटेड समर्थक अन्तिम सिट्ठीसँगै बाहिरिएका थिए । केही समर्थक भने आफ्नो टिमले पदक पाउन्जेल बसे । खेलाडी, प्रशिक्षकले पदक पाउन्जेल रंगशालामा बसे पनि ती समर्थकहरु सन्देश दिन चाहन्थे, मेहनत पुगेन ।
आखिरमा भोगेको हारले युनाइटेडको इज्जतमाथि मात्र होइन भविष्यमाथि नै प्रश्न खडा गरिदिएको छ ।
इङ्ल्यान्डबाट स्पेनको बिल्बाओ पुग्न त्यत्रो पैसा र समय खर्च गरेका समर्थकले खेलाडीबाट जितको अपेक्षा गर्नु नाजायज होइन । प्रिमियर लिगको सिजन बिर्सन लायकको रहेपछि युरोपा एउटै मात्र अवसर थियो, जसले युनाइटेडलाई बेइज्जतिबाट जोगाउन सक्थ्यो । युरोपा लिग चलिरहँदा युनाइटेडले प्रिमियर लिगमा ५ हार र दुई बराबरी खेलेको थियो । युरोपामा अघि बढिरहेकाले समर्थकले युनाइटेडका खेलाडीलाई प्रिमियर लिगको लयलाई लिएर खासै केही भनेका थिएनन् । किनभने घरेलु लिगमा जे जसो भए पनि युरोपेली उपाधिले इज्जत जोगाउनेमा युनाइटेड समर्थक ढुक्क थिए । तर आखिरमा भोगेको हारले युनाइटेडको इज्जतमाथि मात्र होइन भविष्यमाथि नै प्रश्न खडा गरिदिएको छ ।