जेष्ठ ११, २०८२ शनिबार | ०९:३३:५०
खोइ फुटबल, क्यालेन्डरमा हेर ! ‘ए’ डिभिजनमा श्री भगवतीको छलाङ उपत्यका फुटबलमा गोदावरी मेयरकपले कोरेको मार्गचित्र नयाँ उर्जा बोकेर स्कटल्यान्डमा लिग-२ खेल्दै नेपाल आइपिएलः शीर्ष दुईको होडमा तीव्र प्रतिस्पर्धा आत्मकथा शृंखला– ‘पहिले भोगटेको बल बनाएर फुटबल खेल्थ्यौं’ अँध्यारोमा युनाइटेड शुक्रलाई कोर्स रेकर्डसहित उपाधि एपिएफ पराजित नेपाली युवा टेनिस टोली श्रीलंका जाने खोइ फुटबल, क्यालेन्डरमा हेर ! ‘ए’ डिभिजनमा श्री भगवतीको छलाङ उपत्यका फुटबलमा गोदावरी मेयरकपले कोरेको मार्गचित्र नयाँ उर्जा बोकेर स्कटल्यान्डमा लिग-२ खेल्दै नेपाल आइपिएलः शीर्ष दुईको होडमा तीव्र प्रतिस्पर्धा आत्मकथा शृंखला– ‘पहिले भोगटेको बल बनाएर फुटबल खेल्थ्यौं’ अँध्यारोमा युनाइटेड शुक्रलाई कोर्स रेकर्डसहित उपाधि एपिएफ पराजित नेपाली युवा टेनिस टोली श्रीलंका जाने
शनिबारको दिन

आत्मकथा शृंखला– ‘पहिले भोगटेको बल बनाएर फुटबल खेल्थ्यौं’

काठमाडौं ।  –पदमकृष्ण श्रेष्ठ(खेलाडी डटकमको एउटा आफ्नो अलग्गै विशेषता छ । शनिबार पस्कने लेखहरू हाम्रो विशेष प्रयास हो । यसैक्रममा आजैबाट हामीले एउटा नयाँ स्तम्भ सुरु गरेका छौं । यो हो, आत्मकथाको शृंखला । यसका लागि हाम्रो पहिलो रोजाइमा रहे, फुटबलको पुरानो जमानाका खेलाडी तथा प्रशिक्षक पदमकृष्ण श्रेष्ठ । उनको खास परिचय त नेपाली फुटबलको पहिलो पुस्ताका प्रशिक्षककै रूपमा छ । नेपाली फुटबलमा सबैले सम्मान गर्नेमा पर्छन्, यी पदम सर ।

हामी उनकै मुखबाट उनका र नेपाली फुटबलको प्राचिन दिनका कथा सुन्ने छौं । तय छ, यसले नेपाली फुटबलको बारेमा एउटा कालखण्डबाट धेरै थोक भन्ने छ । अनि एउटा तथ्य के निश्चित छ भने यो शृंखलाले नेपाली फुटबलको इतिहासलाई जीवन्त राख्न कुनै न कुनै रूपमा मदत गर्नेछ । त्यतिमात्र होइन, यो शृंखलाले तत्कालीन समाज र परिस्थितिबारे पनि धेरै भन्नेछ । खेलाडी डटकमले उद्घोष गरेको नेपाली खेलकुदको दस्ताबेजिकरणको प्रयासमा यो एउटा दरिलो पाइलाका रुपमा पनि जीवन्त रहनेछ ।)

पहिलो भागमेरो जन्म भएको हो, भित्री पाटनको इखालुखुमा । यो महापालको भित्र छ । गाबहाल र महापालको बीचमा भन्दा हुन्छ, म हुर्केको ठाउँ । जन्मको वर्ष २००३ साल हो । त्यति बेलाको चलन संयुक्त परिवारकै थियो । हाम्रो आफ्नै परिवारमा बुवाआमासँगै पाँच सन्तान थियौं । मेरो अगाडि दुई दाजु । पछाडि दुई बहिनी । म परें बीचको । दाजुभाइमध्ये म कान्छो हुँ । बुवाको नाम लक्ष्मीकृष्ण श्रेष्ठ अनि आमाको नाम शुभद्रा हो ।

मेरा बाजे जीवकृष्ण श्रेष्ठ सानुकाजी साहु भनेर प्रख्यात हुनुहुन्थ्यो । उहाँ त्यो समयका नाम कहलिएका व्यापारी हुनुहुन्थ्यो । उहाँको भाडाकुँडाको राम्रै व्यापार थियो । त्यसको पनि होलसेलर भन्दा हुन्छ । भाडाकुँडा बनाउने काम ताम्राकारको हुन्थ्यो । बाजेले उहाँहरूसँग मिलेर काम गर्नुहुन्थ्यो । भाडाकुँडा बनाउन चाहिने कच्चा पदार्थ भारतबाट झिकाउने काम हाम्रो परिवारले झिकाउने काम गथ्र्यो । यो ०१५ सालको अगाडि पछाडिको कुरा भयो ।

बाजेसँग मेरो भावनात्मक सम्बन्ध निकै नजिकको थियो । म उहाँको प्रिय नाती । मलाई उहाँले धेरै सिकाएर जानुभएको छ । समस्याका बेला कसरी आफूलाई सम्हाल्ने भन्ने नै मलाई बाजेले सिकाउनुभएको हो । उहाँ स्कुल भने कहिल्यै जानुभएन । त्यो बेला स्कुल जाने चलन नै थिएन । तर, गोरखापत्र भने पढ्न सक्नुहुन्थ्यो, गाह्रो मानेर । हिसाब पनि मज्जाले राख्न सक्नुहुन्थ्यो । तर यो काम विशेषतः हाम्रो बुवा र काकाहरूको हुन्थ्यो । त्यो समयमै मलाई स्कुल जाँदा खर्च चाहिन्थ्यो, त्यसकै लागि बाजेलाई खुसी पनि पार्नुपथ्र्यो ।

मैले उहाँलाई खुट्टा दुखेका बेला मालिस पनि गरिदिन्थें । बाजेको ८३ वर्षको उमेरमा निधन भएको हो । मैले उहाँसँग धेरै संगत गर्ने मौका पाएँ । सम्भवतः ०१९ सालतिर निधन भएको हुनुपर्छ । म त्यति बेला किशोर उमेरको भइसकेको थिएँ । उहाँसँगै म कोलकाता पनि पुगेको थिएँ । बुबालाई त्यो समय फुर्सद नै हुँदैनथ्यो । बिहान भात खाएर पसल जानुहुन्थ्यो, राती अबेर फर्किनुहुन्थ्यो । हाम्रो नयाँ सडकमा पसल थियो, भाडाकुँडाकै ।

बुवाले घर फर्किएलगत्तै बाजेलाई सबै हिसाबकिताब बुझाउनुहुन्थ्यो । पूरा दिनको खबर सुनाउनुहुन्थ्यो । त्यसैले मैले बुवासँग सानोमा धेरै समय बिताउन पाइन । सानो उमेरमा बुवाको सानिध्य मेरो भाग्यमा रहेन । खास भन्ने हो भने मैले उहाँसँग राम्रोसँग कुरा गरेको भनेकै १६-१७ वर्षपछि मात्रै हो । म बोर्डिङ स्कुलको होस्टेलमा थिएँ । स्कुलबाट विदामा घर आउँदा बाहिर टोलमा गएर खेल्न नै हतार हुन्थ्यो । आमासँग भने मलाई डर लाग्थ्यो । साह्रै अनुशासनमा बस्नुपर्ने उहाँ ।

उहाँ पनि स्कुल जानुभएन, तर नेपाली अंग्रेजी दुवै पढ्न सक्नुहुन्थ्यो । आमा काठमाडौं ।  ठमेलको, प्रधान खलककी छोरी हुनुहुन्थ्यो । मामा घर पनि उत्तिकै प्रतिष्ठित परिवार थियो । मामाघरको बाजे बजिरमान प्रधान त्यो समयको चर्चित डेन्टिस्ट हुनुहुन्थ्यो । उहाँ चन्द्र शम्शेरको निजी चिकित्सकमा पर्नुहुन्थ्यो । उहाँले कोलकातामा गएर पढ्नुभएको थियो । मामाघरका बाजेसँग पनि मेरो नजिकको सम्बन्ध रह्यो । मेरो आफ्नै बुवाले पनि कोलकातामा गएर पढ्नुभएको थियो, त्यो बेलाको एसएलसी बराबर ।

हाम्रो आफ्नै परिवारको स्थापना भने एक प्रकारले बाजेका बुवाले गर्नुभएको थियो । उहाँको नाम भाजुकृष्ण साहु थियो । उहाँको इतिहास फैरि आफैमा रोमाञ्चले भरिएको छ । सुरु सुरुको समयमा हाम्रो सात परिवार थियो । उहाँहरूलाई तत्कालीन शासकले आफ्नो जन्मथलो छाड्न बाध्य पारेको थियो । तिनीहरूलाई अन्याय र अत्याचारपूर्वक इखालखु छाड्न लगाइएको थियो । त्यसपछि छ परिवार तमोर काटेर ताप्लेजुङ तल पाँचथरमा पुगे ।

हाम्रो बाजेको पुस्ता भने त्यहाँ नगएर कुतितिर लाग्यो र तिब्बतसँगको व्यापार सुरु गर्न थाल्यो । त्यहाँ केही वर्ष बसेर प्रयास गरे पनि व्यापार राम्रो भएन । उहाँहरु फर्केर साँखु आउनुभयो । तरकारी खेती सुरु गर्नुभयो । त्यो पनि सफल भएन । त्यसपछि फर्केर फेरि इखालुखु नै फर्किनुभयो । त्यहाँ आफ्नै घर त थिएन । त्यति बेला बाहिरबाट आएकालाई राख्ने एउटा घर हुन्थ्यो । त्यति बेलाका साहुले उहाँलाई बस्न त्यही घर दिनुभयो । त्यहीं बसेर व्यापार सुरु गर्न भनियो ।

यो व्यापार भने राम्रो भयो । तर, दुर्भाग्यले एक दिन उहाँहरूको पसलमा चोरी भयो । सबै सामान चोरी भयो । परिवार फेरि शून्यमा झर्यो । अब भने उहाँले ल्हासाको व्यापार सुरु गर्नुभयो । उहाँ सुरुमा भारी बोक्नेको नाइके हुनुहुन्थ्यो । पछि यही कामको ठेक्का गर्न थाल्नुभयो । उहाँलाई तिब्बती भाषा पनि आउँथ्यो । उहाँले औपचारिक शिक्षा लिनुभएको त थिएन, तर निकै प्रतिभाशाली हुनुहुन्थ्यो । हामीसँग अहिले पनि त्यो समयको हिसाबकिताबका अभिलेख छन् ।

पछि उहाँले एक जना तुलाधर थरका ल्हासा साहुसँग ऋण लिएर आफैले तिब्बतसँगको व्यापार सुरु गर्नुभयो । हामीसँग अझै तमसुक पनि छ, १५ सय ऋण लिएको । सुरुमा २० वटा मोटरसाइकल तिब्बत लगेर बेच्नुभयो । ती सबै मोपेट थिए । पछि भारतमै गएर सामान ल्याउने काम सुरु गर्नुभयो । हाम्रै समयमा पनि टोलतिर परिवारको राम्रै सम्मान थियो, सबैले मान्थे । आर्थिक रूपमा बलियो परिवार नै थियो । फेरि त्यो बेला हाम्रो दिनरात टोलमै बित्थ्यो ।

समय नै त्यस्तो थियो । प्रत्येक मानिसको दैनिकी सुरु हुनेवित्तिकै घर बाहिर निस्कनु अनिवार्यजस्तै हुन्थ्यो । हामी केटाकेटी खेल्न जाने पनि घर बाहिरै हो । मलाई लाग्छ, ५ वर्षको उमेरदेखि नै म टोलमा निस्केर खेल्ने भइसकेको थिएँ । त्यो समयका सबै खेल खेलें होला । लुक्ने, दौडिने, भाग्ने । गुच्चा पनि खेलें । चुरोटको खोल त्यो बेला हाम्रा लागि नोट हुन्थ्यो । यसको मूल्य नै बेग्लै । म आठ वर्षको हुँदा गोदावरीको सेन्ट जेर्भियसमा भर्ना भएको थिएँ, दुई कक्षामा । त्यति बेला यो स्कुलमा पढ्न पाउनु पनि ठूलै उपलब्धि मानिन्थ्यो । त्यस अगाडि एक वर्ष मैले त्रिपद्य विद्याश्रममा पनि पढें ।

यो स्कुल अझै पुल्चोकमा छ । त्यस अगाडि घरमै ट्युसन पढ्थें । हामीलाई पढाउन रत्नध्वज जोशी घरमै आउनुहुन्थ्यो । उहाँ नाम चलेको शिक्षक हुनुहुन्थ्यो । उहाँ नागबहालको जोशी हुनुहुन्थ्यो । त्यहाँ जोशीचोक नै छ । चन्द्र शमशेरको निजी डेन्टिस्ट भएपछि मामाघरका बाजेको प्रतिष्ठा र पहुँच धेरै माथिसम्म थियो । बग्गीमा चढेर कार्यालय जानुहुन्थ्यो । यसरी कार्यालय गएको मैले आफै त देखिनं, तर त्यो बग्गी भने मैले धेरैपछि पनि देखेको थिएँ ।

घरमा गाई पालिएको हुथ्यो । ती सबै उन्नत जातका हुन्थे, अस्ट्रेलियाबाट झिकाइएको हुन्थ्यो । अझ घरमै पोल्टी फार्म पनि थियो । प्रसस्त फलफुल उत्पादन हुन्थ्यो, घरमै । मैले फुटबलका रूपमा सबैभन्दा पहिले खेलेको भनेको भोगटेकै बलबाट हो । सबैभन्दा पहिले भोगटे टिप्ने काम हुन्थ्यो, भए आफ्नै घरकै । भएन भने अरूको घरबाट चोर्ने काम हुन्थ्यो । सुरुमा भोगटे असाध्यै साह्रो हुन्छ । खुट्टाले त्यत्तिकै प्रहार गर्न सकिने खाले हुन्नथ्यो ।त्यसैले यसलाई कुटेर नरम पार्नुपर्ने हुन्छ । त्यसपछि दुई वटा टिम बनाएर खेलिन्थ्यो, गोलपोस्ट पनि दुइटा हुन्थ्यो । फुटबल त खेलिन्थ्यो, तर नियमबारे केही थाहा थिएन । ह्यान्ड हुन्छ भन्ने पनि थाहा थिएन । खेल्न पाए पुग्थ्यो । त्योबेला उसरी फुटबल खेल्ने खेलाडी जति सबै अलिकति झेल्ली नै हुन्थे । विपक्षी खेलाडीको खुट्टामा हान्न पायो भने केक्केन गरेजस्तो लाग्थ्यो । खेल्दा खेल्दा भोगेटे फुट्थ्यो र फेरि नयाँ बनाइन्थ्यो । यो नै फुटबलसँगको मेरो पहिलो साइनो हो भन्दा हुन्छ ।