काठमाडौं । पाकिस्तानी तीव्र गतिका बलर सोहेल तनवीरको सानदार बलिङप्रेरित नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राईनोजविरुद्ध काठमाडौं गोर्खाज मध्यम योगफलमा समेटिएको छ ।
शुक्रबार प्रतियोगिताको १२औं दिन टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंका शीर्ष क्रम धरासायी बन्दा चौथो र पाँचौं नम्बरका ब्याटर (मिलिन्द कुमार र जोन सिम्पसन)ले पारीलाई उकासेका थिए । दुबैले तेस्रो विकेटका लागि ९८ रनको साझेदारी गरे । तर, त्यसपछि आएका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसको कारण थियो, सोहेल तनवीरको सानदार बलिङ । तनवीरले चार ओभरमा २५ रन खर्चिँदै चार खेलाडीलाई पवेलियनको बाटो देखाए ।

स्कोरबोर्डमा १२२ रन हुँदा काठमाडौंले चौथो विकेटका रुपमा ३८ रन बनाएका मिलिन्दलाई गुमाएको थियो । त्यसपछि थप २० रनमा काठमाडौंले ६ विकेट गुमायो । समग्रमा काठमाडौंले २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४२ रनको योगफल खडा गर्यो । सिम्पसनले २९ बलमा तीन चौका र पाँच छक्कासहित ६० रनको पारी खेले ।
चितवनका लागि तनवीरबाहेक रञ्जीत कुमार र कमलसिंह ऐरिले समान दुई विकेट लिए । त्यस्तै ब्याटिङ अलराउन्डर रवी बोपाराको नाममा एक विकेट रह्यो ।

काठमाडौंले दोस्रो ओभरको अन्तिम बलमा ओपनर आकाश त्रिपाठीलाई गुमायो । आकाश विकेटकिपर अर्जुन साउदबाट रनआउट भए । तेस्रो ओभरको अन्तिम बलमा काठमाडौंले दोस्रो विकेटका रुपमा रसीद खानलाई गुमायो । अघिल्लो खेलमा पाँच विकेट लिएका रञ्जीत कुमारले चितवनलाई दोस्रो सफलता दिलाए । रसीद भोपाराबाट क्याच भए ।
पावरप्लेमै तनवीरले बेन चार्लस्वर्थलाई पवेलियनको बाटो देखाए । चार्ल्स्वर्थ भोपाराबाटै क्याच भए । त्यसपछि आएका सिम्पसने मिलिन्दसँग बलियो साझेदारी गर्दा काठमाडौंको पारी सम्हालिएको थियो ।

१६औं ओभरको अन्तिम बलमा मिलिन्दलाई बोल्ड गर्दै भोपाराले चितवनलाई ब्रेक थ्रु दिलाए । यहीँबाट काठमाडौंको विकेटको पतन सुरु भएको हो । अर्को आभेरको पहिलो बलमा कमलले सिम्पसनलाई जैबबाट क्याच गराए । त्यसपछि जेरार्ड इरास्मस तनवीरको शिकार बने । इरास्मस अर्जुनबाट ‘स्टम्प आउट’ भए ।
१८औं ओभरको चौथो बलमा काठमाडौंले सातौं विकेटका रुपमा मोहम्मद आदिल आलमलाई गुमायो । आलम तनवीरको बलमा बोल्ड भए । यही ओभरको अन्तिम बलमा तनवीर आफैँले दर्शनीय क्याच गर्दा काठमाडौंको आठौं विकेट गुमेको थियो । त्यसपछि करण रञ्जीतको बलमा कमलबाट क्याच भए । अनि दीपेश कँडेललाई कमलले कप्तान कुशल मल्लबाट क्याच गराए ।
