काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मंगलबारको त्यो दृश्य साँच्चिकै हेर्नलायक थियो । आफ्नो टोली श्री भगवती क्लबलाई समर्थन गर्न टोखाका वासिन्दा ब्यान्डबाजा, धिमे र झ्याली बोकेर १७ किलोमिटर टाढा सातदोबाटो आइपुगेका थिए ।
श्री भगवती क्लब चौथो प्रयासमा फुटबलको शीर्ष डिभिजन उक्लिँदै थियो । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत १२औं चरणको खेलमा टोखा भगवतीको प्रतिस्पर्धा थियो तेस्रो स्थानमा रहेको ब्वाइज युनियन क्लबविरुद्ध । डिभिजन फुटबलमा गर्विलो इतिहास बोकेको ब्वाइज युनियन क्लब जित्नैपर्ने दबाबबीच मैदान उत्रिएको थियो । भगवतीलाई बढुवा हुन एक अंकमात्र आवश्यक थियो । ब्वाइज युनियनले जिते शीर्ष डिभिजनमा बढुवा हुने दोस्रो टोलीको छिनोफानो अन्तिम चरणमा हुने समीकरण थियो । च्याम्पियन प्लानिङ ब्वाइज क्लब भने यसअघि नै शीर्ष डिभिजनमा उक्लिसकेको थियो ।
आफ्नो १२औं खेलाडीको हर्षोल्लासबीच भगवतीले पहिलो हाफमा दुई गोलको अग्रता लियो । अब ब्वाइज युनियनलाई जितका लागि तीन गोल आवश्यक भयो । ब्यान्डबाजाबाट निस्किएको धुनसँगै नाचिरहेका समर्थकलाई शान्त पार्नु लगभग असम्भव जस्तै बन्यो । यद्यपि ब्वाइज युनियन एक गोल गर्न भने सफल भयो । रेफ्रीको फाइनल ह्विसलसँगै सहायक प्रशिक्षक महेश श्रेष्ठको नेतृत्वमा रहेका खेलाडी र अफिसियल सबै दर्शकदीर्घातर्फ लागे अनि समर्थकसँगै बढुवाको खुसी मनाए । पछि धिमे र झ्यालीको समूह मैदानमै ओर्लियो । स्याम्पेनका बोटलहरू फुट्न थाले ।
सम्पूर्ण टोखावासीले ८ वर्षदेखि खोजेको माहोल यही नै थियो । उत्तरी काँठ क्षेत्रको फुटबल संस्कार बोक्दै अगाडि बढ्ने क्रममा टोखा भगवती आठ वर्षयता दोस्रो डिभिजन लिगमै रुमल्लिरहेको थियो । त्यसकारण पनि यो उपलब्धि टोखावासीका लागि विशेष रह्यो ।

भगवती क्लबको ठेगाना टोखा नगरपालिका वडा नम्बर २ हो । टोखाबजारमै रहेको यो क्लब विक्रम सम्वत् २०४७ सालमा स्थापना भएको थियो ।
भगवतीले बढुवाबाहेक अन्य विकल्प सोचेको थिएन । लिगका लागि स्थानीय भूतखेल चउरमा लगभग ५० दिन प्रशिक्षण गरेको भगवतीका लागि ‘स्क्वाड डेप्थ’ सफलताको मुख्य आधार बन्यो ।
२०७३ सालमा ‘सी’ डिभिजन लिग च्याम्पियन बन्दै भगवती दोस्रो श्रेणीमा बढुवा भएको थियो । त्यसयता तीन पटक मात्र दोस्रो डिभिजनको लिग भएको छ । तीनै पटक भगवतीले शीर्ष डिभिजनमा पुग्न चुनौती पेस गरेको थियो । तर हरेक अवसरमा परिस्थितिहरू टोलीको पक्षमा रहेनन् ।
२०७५ मा पहिलो पटक ‘बी’ डिभिजन लिगमा सहभागिता जनाउँदा टोली उपविजेता बनेको थियो । त्यतिबेला एन्फाले ‘नो प्रमोसन, नो रेलिगेसन’ को अवधारणामा लिग गरेको थियो । २०७७ सालको लिगमा क्लब छैटौं स्थानमा सीमित भयो । २०७८ अर्थात् पछिल्लो लिगमा भगवती मध्यतिर शीर्षस्थानमा थियो । तर, अन्त्यमा क्लबले पाँचौं स्थानमा चित्त बुझाउँदै लिग टुंग्याएको थियो ।
यसपालि भने भगवतीले बढुवाबाहेक अन्य विकल्प सोचेको थिएन । लिगका लागि स्थानीय भूतखेल चउरमा लगभग ५० दिन प्रशिक्षण गरेको भगवतीका लागि ‘स्क्वाड डेप्थ’ सफलताको मुख्य आधार बन्यो ।

‘नो इफ नो बट’ भनेझैं भगवतीले यसपालि जसरी पनि शीर्ष डिभिजनको हैसियत प्राप्त गर्ने गरी टोली निर्माण गरेको थियो । क्लबले शीर्ष डिभिजनको अनुभव भएका मिडफिल्डरद्वय दीपेश श्रेष्ठ र शिशिर लेखीलाई अनुबन्ध गर्दा पछिल्लो समय उमेर समूहमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै आएका रक्षकद्वय आयुष तिम्सिना र निशानराज लावटलाई पनि टोलीमा भित्र्याएको थियो । यसैगरी राष्ट्रिय फुटसल टोलीबाट खेलिसकेका कप्तान उर्केन शेर्पा र अमित लामाको उपस्थितिले भगवतीलाई अन्य टोलीभन्दा बलियो बनाएको थियो ।
क्लबले लगभग सबै खेलाडी दुई वर्षअघि नै अनुबन्ध गरेको थियो । खासमा यो लिग दुई वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने थियो । तर, क्लबहरू र एन्फाबीचको निरन्तर विवादका कारण लिग दुई वर्ष पर धकेलियो । दुई वर्ष लिग नहुँदा थुप्रै घाटा भए पनि टोखा भगवतीलाई एउटा कुरामा भने फाइदा भयो । त्यो हो, लामो समयदेखि अनुबन्ध गरेका खेलाडी भएकाले टोलीमा बन्डिङ निकै राम्रो बन्न पुग्यो । लिग सुरु हुनुपूर्व क्लबले सिन्धु कप र त्रिवेणी कप गरी दुई घरेलु प्रतियोगितामा सहभागिता जनाएको थियो । जसले गर्दा टोलीका कमीकमजोरी र तालमेलमा देखिएका गल्ती सच्याउन सहज भयो ।
क्लबले अघिल्लो संस्करण खुमलटारलाई शीर्ष डिभिजनमा बढुवा गराएका प्रशिक्षक महेश श्रेष्ठलाई जिम्मेवारी दिएको थियो ।
लिगको कुरा गर्ने हो भने अहिलेसम्म कुनै पनि खेल नहारेको टोखा भगवतीलाई सुरुआती ६ खेलसम्म गाह्रो भएको थिएन । दोस्रो स्थानमा रमाइरहेको क्लबले सातौं खेलदेखि भने लय गुमाउन थालेको थियो । अन्तिम चरणमा आएर फेरि भगवतीले पुरानो लय समात्यो ।
क्लबले अघिल्लो संस्करण खुमलटारलाई शीर्ष डिभिजनमा बढुवा गराएका प्रशिक्षक महेश श्रेष्ठलाई जिम्मेवारी दिएको थियो । अघिल्लो संंस्करण श्रेष्ठको नेतृत्वमा खुमलटारले एन्फा मुख्यालय मैदानमा अन्तिम खेलमा विजय हासिल गर्दै शीर्ष डिभिजनको ढोका खोलेको थियो । त्यसैले पनि श्रेष्ठमाथि भगवतीले विश्वास गरेको थियो । जुन विश्वासमाथि श्रेष्ठ खरो उत्रिए । खुमलटारमा जस्तै यसपालि पनि श्रेष्ठले प्रशिक्षक विष्णु गुरुङको संरक्षकत्व पाए । सँगै नेपाली फुटबलका चर्चित प्रशिक्षक नवीन न्यौपानेले क्लबलाई प्राविधिक सहयोग गरे ।

‘आज ए डिभिजनमा चढिरहँदा म मेरा मेन्टर विष्णु (गुरुङ) दाइ र नवीन न्यौपाने (दाइ) लाई विशेष धन्यबाद दिन चाहन्छु । हामीले टिम इफर्टबाट यो उपलब्धि हासिल गरेका हौं,’ श्रेष्ठ भावुक सुनिए, ‘मिहिनेत गरिरह्यो भने सफलता पाइने रहेछ भन्ने महसुस भयो ।’
श्रेष्ठ र गुरुङले खुमलटारको जर्सी लगाएका चार खेलाडीसँग यसपालि पनि सहकार्य गरे । आशिष सुनाम, अजित लामा, दिवस छन्त्याल र विक्रान्त नरसिंह राना भगवतीको यो यात्राका महत्त्वपूर्ण हिस्सा रहे । उच्च गोलकर्ताको दौडमा तेस्रो स्थानमा रहेका विक्रान्तले लिगमा एक खेल बाँकी रहँदा ५ गोल गरिसकेका छन् ।
अफिसियलको बेजोड मिहिनेतबाहेक पूर्वअध्यक्ष मनिष जोशीले पनि टोली निर्माणमा अप्रत्यक्ष भूमिका खेले । दीपेश श्रेष्ठ जस्ता अनुभवी खेलाडी भित्र्याउन जोशीले पहल गरेका थिए ।
टोखावासीले पहिलो पटक शीर्ष डिभिजन लिगमा आफ्नो प्रतिनिधि पाउनेछ । सम्पूर्ण टोखावासी अहिले बढुवाको उत्सव मनाइरहेका छन् ।
‘म सरस्वती क्लब गइसकेको थिएँ । तर, मनिष (जोशी) दाइले यसपालि टोखा भगवतीलाई माथि लैजाने योजना छ, सहकार्य गरौं भनेर अनुरोध गर्नुभयो । दाइकै अनुरोधमा म यता आएको हुँ,’ ए डिभिजन लिगको अनुभव भएका दीपेश सुनाउँछन्, ‘खेलाडीले पाउनुपर्ने अधिकार र सुविधामा सम्झौता गर्नुपरेको छैन । मैले यसपालि सबै कुरामा फरक पाएँ । खेलाडीमा सकारात्मक उर्जा थपिदिँदा यो उपलब्धि हासिल भएजस्तो लाग्छ ।’

टोखावासीले पहिलो पटक शीर्ष डिभिजन लिगमा आफ्नो प्रतिनिधि पाउनेछ । सम्पूर्ण टोखावासी अहिले बढुवाको उत्सव मनाइरहेका छन् । एन्फाले तोकेकै समयमा लिग हुने हो भने यही वर्षको पुस महिनामा सहिद स्मारक ‘ए’ डिभिजन हुनेछ । जहाँ सांस्कृतिक सम्पदा र फुटबल भावनाले धनी टोखाको मौलिक धिमेबाजा घन्किने छ । आठ वर्षयताको प्रतीक्षा अन्त्य हुनेछ ।
खेलाडी पनि शीर्ष डिभिजनको चुनौतीलाई उत्तिकै तयार छन् । कप्तान उर्केन भन्छन्, ‘शीर्ष डिभिजन लिगमा प्रतिस्पर्धा गर्न सोचे जस्तो सजिलो हुँदैन । विदेशी र शीर्ष स्तरका घरेलु खेलाडी मिश्रित गरेर टोली निर्माण गर्नुपर्ने चुनौती हुन्छ । हामी यसका लागि तयार छौं ।’