काठमाडौं । नेपाली फुटबलको सही दृश्य हेर्न मनलागे अचेल फेसबुकका भित्ता सबैभन्दा सजिलो माध्यम हो । जहाँ यो खेलका सबैखाले गतिविधिको विस्तृत जानकारी छरप्रस्ट भेटिन्छन् । फेसबुकका भित्ता स्क्रोल गरे पुग्छ, देशका कुन कुनामा के भइरहेको छ, मैदानभित्रको अवस्था के छ, प्रशासन के गर्दै छ भन्ने सबैखाले विषयमा थाहा भइहाल्छ । योभन्दा पनि बढी फुटबलमा के भइरहेको छैन भन्ने विषय जान्नलाई फेसबुक झनै बढी उपयोगी छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)मा दुई दशकभन्दा लामो समय काम गरिसकेपछि गत वर्ष निष्कासनमा परेका कर्मचारी वसन्त रिजालको जेठ ५ गते एउटा पोस्ट आयो । त्यसमा अघिल्लो हप्ता धुलिखेलमा सम्पन्न विवादास्पद एन्फा साधारणसभाले पास गरेको फुटबल क्यालेन्डरको स्क्रिनसट राखेर लेखिएको थियो, ‘आजबाट हुन लागेको एन्फा प्रेसिडेन्ट्स लिग २०२५ को भव्य सफलताको शुभकामना !’
खासमा त्यो रिजालले दिएको शुभकामना थिएन । त्यो त एन्फा नेतृत्वप्रति कटाक्ष थियो । शुभकामनाको भाषामा नेपाली फुटबल प्रशासनलाई त्यो रिजालले हानेको गुलाबी लात थियो । उनले व्यंग्यात्मक शैलीमा एन्फा नेतृत्वलाई असक्षम र बेइमान भनेका थिए ।
एन्फाले निर्णय गरेर नभएको अनि ‘यसकारण भएन’ वा ‘यो मितिमा गर्छौं’ भनेर जवाफदेहिता प्रस्तुत नगरेको यही एउटा प्रतियोगिता होइन ।
किनकि वैशाख २६ गतेको साधारणसभाले सर्वसम्मत रूपमा पास गरेको त्यो प्रतियोगिता हुनेवाला थिएन । जेठ ५ मा सुरु भएर २४ गतेसम्म चल्नुपर्ने प्रदेश च्याम्पियनहरूको प्रतिस्पर्धाका लागि सुरु हुनुपर्ने दिन बिहानसम्म पनि कुनै चालचुल थिएन । न त प्रतियोगिता सार्नकै लागि एन्फाले अर्को कुनै सूचना जारी गरेको थियो ।

एन्फाले निर्णय गरेर नभएको अनि ‘यसकारण भएन’ वा ‘यो मितिमा गर्छौं’ भनेर जवाफदेहिता प्रस्तुत नगरेको यही एउटा प्रतियोगिता होइन । अरू थुप्रै कार्यक्रम छन्, जसलाई एन्फाले चर्को स्वरमा घोषणा गरेर पनि कार्यान्वयन गरेको छैन । कार्यान्वयनमा नल्याइएका कार्यसमिति र साधारणसभाका निर्णयको सूची धेरै लामो भइसक्यो । ती सबको चर्चा गर्न लामै समय र हजारौं शब्द आवश्यक पर्छ ।
कुनै पनि संस्थाको सर्वोच्च निकाय भनेको साधारणसभा नै हो । साधारणसभाका प्रत्येक निर्णय पालना गर्नु कार्यसमितिको बाध्यता हो । कार्यान्वयन गर्न सकिएन भने यथोचित कारणसहित स्पष्टीकरण पेश गर्नुपर्छ र साधारणसभाबाटै त्यसलाई परिमार्जन गर्नुपर्छ । तर नेपाली फुटबलको सर्वोच्च निकाय यो मामिलामा निकै हेपाहा छ ।
साधारणसभामा प्रस्तुत गरिएको क्यालेन्डरमा गइसकेको समयमा नभएको प्रतियोगिताको विवरणसमेत उल्लेख गर्नु भनेको नेपाली फुटबलजगतलाई ढाँट्नु हो अनि ठग्नु हो ।
खासमा एन्फाले कार्यसमिति वा साधारणसभामा कार्यान्वयनको समेत अठोट राखेर कुनै विषय ल्याउँदैन । निर्णयका लागि निर्णय गर्दै सरोकारवालाको आँखामा धुलो छरेर आफ्ना व्यक्तिगत र गुटगत स्वार्थपूर्तिमा एन्फाको मूल नेतृत्व लिप्त देखिन्छ । देशको फुटबलको मेरुदण्ड मानिने लिगको शीर्ष डिभिजन नै दुई वर्षदेखि नहुनु यसको एउटा बलियो प्रमाण हो ।
एन्फा काम गर्न चाहँदैन, खाली ठूला योजना बाँड्ने र व्यक्ति व्यवस्थापनमार्फत आफ्नो सत्ता जोगाउनेमा केन्द्रित छ भन्ने प्रमाण दुई साताअघिको साधारणसभामा पनि नेतृत्व आफैले प्रस्तुत गर्यो । २६ गते भएको साधारणसभामा प्रस्तुत गरिएको सन् २०२५ को वार्षिक क्यालेन्डरमा वैशाख २० देखि जेठ ३ सम्म ‘ए’ डिभिजन क्लबहरूको बीचमा एन्फा कप लिगकम नकआउट प्रतियोगिता हुने उल्लेख छ ।

तर २० गतेबाट प्रतियोगिता चाहिँ सुरु भएको छैन । साधारणसभामा प्रस्तुत गरिएको क्यालेन्डरमा गइसकेको समयमा नभएको प्रतियोगिताको विवरणसमेत उल्लेख गर्नु भनेको नेपाली फुटबलजगतलाई ढाँट्नु हो अनि ठग्नु हो ।
कार्यसमिति र साधारणसभाका बैठकमा विदेशको भिसा, प्लेन टिकट र केही हजारको भत्ता वा एन्फाको कुनै कमाइ हुने प्रोजेक्ट पाउने आसमा अन्धो भएर ताली मात्र पिट्छन् ।
अध्यक्ष पंकजविक्रम नेम्बाङको प्यानलले तीन वर्षअघि भएको एन्फा निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारी घोषणा कार्यक्रममै आफूसँग योजना नभएको र त्यसमाथि विश्वास नरहेको प्रष्ट संकेत गरिसकेको थियो । चुनाव जिते चार वर्ष नेपाली फुटबल हाँक्ने योजना कस्ता छन् ? भनेर सोधिएको प्रश्नमा हालका महासचिव किरण राईले नेम्बाङ पक्षको प्रतिनिधित्व गर्दै भनेका थिए, ‘फुटबलमा कुनै योजना चाहिन्न । विधानमा सबै कुरा उल्लेख छ । त्यहीअनुसार काम गरे पुग्छ ।’
राईको यो जवाफमा नेम्बाङ प्यानलको फुटबलप्रतिको भावना र फुटबललाई हेर्ने नजर प्रष्ट थियो । योजना र एजेन्डाविना अघिल्लो नेतृत्वलाई गाली गरेकै भरमा चुनावी प्रतिस्पर्धामा उत्रिएर संख्याको खेलमा बाजी मारेको समूहबाट क्यालेन्डर कार्यान्वयनको अपेक्षामात्र पनि आफैमा सान्दर्भिक नहोला । बरू संख्याको खेलमा त यो समूहले नेतृत्वमा आएपछि पनि आफ्नो विशेषज्ञता प्रयोग गर्दै प्रत्येक दिन विपक्षीलाई मात दिइरहेकै छ ।

कार्यक्रम र भाषणमा नेपाली फुटबलसँग यति धेरै कार्यक्रम छन् कि फुटबलका विकसित देश पनि यो मामिलामा पछि पर्न सक्छन् । तर व्यवहारमा भने घोषित कार्यक्रममध्ये अधिकांश कार्यान्वयनमा आउँदैनन् । घोषणा गर्नेले पनि यसकारण गर्न सकिएन भनेर जवाफदेहिता देखाउँदैन । सोध्नुपर्नेले पनि किन भएन भनेर सोध्दैनन् । कार्यसमिति र साधारणसभाका बैठकमा विदेशको भिसा, प्लेन टिकट र केही हजारको भत्ता वा एन्फाको कुनै कमाइ हुने प्रोजेक्ट पाउने आसमा अन्धो भएर ताली मात्र पिट्छन् ।
नेपाली समर्थकले सबैभन्दा बढी मन पराएको सुन्दर खेलको रूप विद्रुप हुनबाट जोगाउने हो भने नेपाली फुटबल चल्ने प्रक्रियालाई जवाफदेहिताको मामिलामा इमान्दार बनाउनुपर्छ ।
धुलिखेलको साधारणसभा पनि तीन वर्षअघि चुनावी घोषणा सभामा गरिएको संकेतको अर्को एउटा शृंखलामात्र थियो । जहाँ सरोकारवालाको मुख थुन्न थुप्रै कार्यक्रम घोषणा गरिए । तर कार्यान्वयनको ग्यारेन्टी केही पनि छैन । बरू नहुने चाहिँ पक्का । जवाफदेहिता शून्य । यही हो नेपाली फुटबलको आजको यथार्थ । प्रश्न गर्नुपर्नेको मुख स्वार्थको लड्डुले टालिएको छ । अनि जवाफ दिनुपर्नेको मुख संख्या मिलाउनमै मात्र प्रयोग भइरहन्छ ।
नेपाली समर्थकले सबैभन्दा बढी मन पराएको सुन्दर खेलको रूप विद्रुप हुनबाट जोगाउने हो भने नेपाली फुटबल चल्ने प्रक्रियालाई जवाफदेहिताको मामिलामा इमान्दार बनाउनुपर्छ । प्रश्न गर्दा डराउनुपर्ने अवस्थाबाट फुटबल प्रशासनले मुक्ति पाउनुपर्छ ।
