काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डमा हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली क्रिकेट टोली वैशाख अन्तिम साता बेलायत प्रस्थान गरिसकेको छ । नयाँ उर्जा र जिम्मेवारी बोकेर एसोसिएट पावरहाउस हौं भन्ने प्रमाणित गर्न नेपाली टोली बेलायत भ्रमणमा छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले वैशाख ३१ गते बिहान त्रिकोणात्मक शृंखलामा जाने खेलाडी र अफिसियललाई बिदाइ गरेको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतले टोलीलाई बिदाइ गरेका थिए ।
स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाअघि नेपालले बेलायतका स्थानीय टोलीसँग अभ्यास खेल खेलिरहेको छ । हालसम्म नेपालले खेलेका चारै खेलमा जित निकालेको छ ।
नेपालले गत फेब्रुअरीमा घरेलु मैदान तथा नोभेम्बरमा अमेरिकामा भएको शृंखलामा एक-एक जित निकालेको थियो ।
बेलायतमा प्रशिक्षण सकिएपछि टोली स्कटल्यान्ड जाने छ । त्यहाँ नेपालले स्टकल्यान्ड ‘ए’ सँग दुई एकदिवसीय अभ्यास खेल खेल्नेछ ।

डब्लूसिएलको आफ्नो चौथो शृंखला खेल्ने क्रममा रहेको नेपाली टोली निकै खराब लयमा छ । हालसम्म लिगका तीन शृंखलाका १२ खेल खेल्दा नेपाल ६ अंक बटुलेर ८ टोली सहभागी लिगको सातौं स्थानमा छ । नेपालभन्दा मुनि युएईमात्रै छ ।
नेपालले ८ हार र २ जितको नतिजा निकाल्दा दुई खेल भने वर्षाका कारण सम्भव हुन सकेन । नेपालले गत फेब्रुअरीमा घरेलु मैदान तथा नोभेम्बरमा अमेरिकामा भएको शृंखलामा एक-एक जित निकालेको थियो । नेपाल क्यानडा भ्रमणमा भने जितविहीन बन्यो ।
जुन २ देखि १२ सम्म हुने आसन्न शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । नेपालले जुन २ र ८ मा स्कटल्यान्ड तथा जुन ४ र १० मा नेदरल्यान्ड्सको सामना गर्नेछ ।
अहिले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा अस्ट्रेलियाका स्टुवार्ट ल छन् । उनले यही शृंखलामार्फत नेपाली टोलीको प्रशिक्षण बागडोर सम्हाल्ने छन् ।
निकै खराब लयमा रहेको नेपालका लागि दुई बलिया टोलीविरुद्ध जित निकाल्न त्यति सहज हुने छैन ।

नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल स्कटल्यान्डमा खेल्न त्यति सजिलो नहुने बताउँछन् । ‘स्कटल्यान्डमा खेल्न गाह्रो हुन्छ । तर हामीले उनीहरूलाई त्यहाँ हराइसकेका छौं । सबै खेलाडी फिट रहेकाले टोलीको मनोबल उच्च छ । टोलीको अवस्थाबारे सबैलाई थाहा छ । त्यसैले स्कटल्यान्ड शृंखलामा राम्रो प्रदर्शन गर्ने प्रयास हुनेछ,’ मल्लले बेलायत जानुअघि भनेका थिए, ‘यो शृंखलामा कम्तीमा पनि दुई जित निकाल्न सक्यौ भने हाम्रो आगामी यात्रा केही सहज हुनेछ । हाम्रा खेलाडी त्यसका लागि सक्षम छन् ।’
अहिले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा अस्ट्रेलियाका स्टुवार्ट ल छन् । मोन्टी देसाईको स्थान लिएका उनले यही शृंखलामार्फत नेपाली टोलीको प्रशिक्षण बागडोर सम्हाल्ने छन् । उनी इङ्लिस पिचका बारेमा राम्रोसँग जानकार छन् । उनले सन् १९९६ देखि २००९ सम्म विभिन्न क्लबबाट इङ्ल्यान्डको काउन्टी क्रिकेट खेलेका थिए । इङ्ल्यान्ड र स्कटल्यान्डको पिच कन्डिसन लगभग उस्तै छ । यसले नेपाली टोलीलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।
लिगमा नेदरल्यान्ड्स शीर्ष र स्कटल्यान्ड चौथो स्थानमा छन् ।
नेपालका बलर नन्दन यादव नयाँ प्रशिक्षकको आगमनले उत्साहित रहेको बताउँछन् । ‘नयाँ प्रशिक्षक आउने बित्तिकै टोलीमा धेरै परिवर्तन भइहाल्छ भन्ने होइन । उहाँ (स्टुवार्ट ल) ले ल्याउनुभएको सलरपनले भने म निकै खुसी छु । ज्ञानेन्द्र दाइ (सहायक प्रशिक्षक) ले पनि बलिङ जति सरल ढंगले गर्यो, त्यति राम्रो हुन्छ भन्नुहुन्थ्यो । लले पनि त्यही कुरा सुझाउनुभएको छ । यसले सहज भइरहेछ,’ नन्दनले भने । उनले नयाँ प्रशिक्षक आउँदा केही नयाँ सिक्ने अवसर पनि पाइरहेको बताउँदै उनको आगमनले निकै उत्साहित भएको सुनाए ।
यस्ता छन् नेपालका प्रतिद्वन्द्वी
नेदरल्यान्ड्स

पहिलो पटक आइसिसी विश्वकप क्रिकेट लिग २ सहभागिता जनाइरहेको नेदरल्यान्ड्स अंकतालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्सले ५ शृंखलाका २० खेल खेल्दा १२ जित र ६ हारको नतिजा निकालेको छ भने दुई खेल विनानतिजा टुंग्याएको छ ।
२६ अंक जोडेको नेदरल्यान्ड्सले पछिल्ला ५ खेलमा ४ जित र १ हार बेहोरेको छ । नेदरल्यान्ड्सले भर्खरै स्कटल्यान्ड र युएईसम्मिलित शृंखला खेलेको थियो ।
स्कटल्यान्ड

साबिक विजेता स्कटल्यान्ड ४ शृंखलाका १६ खेल खेल्दै ९ जित र ५ हारको नतिजासहित २० अंक जोडेर चौथो स्थानमा छ । दुई खेल भने विना नतिजा टुंग्याएको छ ।
स्कटल्यान्ड पछिल्लो समय भने आफ्नो स्वाभाविक लय समात्न प्रयासरत छ । टोलीले पछिल्ला ५ खेलमा ३ जित र २ हार सामना गरेको छ । स्कटल्यान्डले भर्खरै नेदरल्यान्ड्स र युएईसँगको शृंखला खेलेको थियो ।
लिग–२ को शृंखलामा नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), गुलशन झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल ।
यस्तै लिग-२ पछि हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहलाई टोलीमा समावेश गरिएको छ ।
किरण र रुपेशले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।