काठमाडौं । आयोजक गोदावरी नगरपालिकाले उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको फाइनलमा प्रवेश गरेको आफ्नो टोलीलाई जनही १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।
खेल गोदावरी-१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा गोदावरीले दक्षिणकाली नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गरेको थियो ।
खेलपछि नगर प्रमुख गजेन्द्र महर्जनले टोलीको सम्मानस्वरुप सदस्यलाई जनही १० हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।
गोदावरी समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह चरणमा महालक्ष्मी नगरपालिकालाई ६-१ ले तथा बागमती गाउँपालिकालाई ७-० ले हराएको गोदावरीले ललितपुर महानगरपालिकासँग १-१ को बराबरी खेलेको थियो ।
गोदावरीले उपाधिका लागि काठमाडौं महनगरपालिकाको सामना गर्नेछ । साबिक विजेता काठमाडौंले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा कीर्तिपुर नगरपालिकाविरुद्ध ३-० को सहज जित दर्ता गरेको थियो ।