काठमाडौं । श्री भगवती क्लब र मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बुधबार १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो नितजासँगै ११ खेलमा २३ अंक जोडेको भगवती दोस्रो स्थानमा कायम छ । यता समान खेलबाट १२ अंक जोड्दै १२औं स्थानमा उक्लिएको मध्यपुरले तत्कालका लागि रेलिगेसन क्षेत्र छाडेको छ ।
यससँगै ११ अंक रहेको टुसाल युथ क्लब भने रेलिगेनस क्षेत्रमा झरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भगवतीका लागि विक्रन्तनरसिंह राना र मध्यपुरका लागि साहिल केसीले गोल गरे ।
खेलको १९औं मिनेटमा विक्रन्तको गोलमार्फत भगवतीले अग्रता लिएको थियो । ६१औं मिनेटमा साहिलले मध्यपुरका लागि बराबरी गोल गरे ।
त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने । बुधबारै सम्पन्न पहिलो खेलमा ब्वाइज युनियन क्लबले श्री कुमारी क्लबविरुद्ध ५-३ को जित दर्ता गरेको थियो ।