काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपका लागि भारत जाने नेपाली टोलीको बिदाइ भएको छ ।
टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ ( एन्फ) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले बिदाई गरे ।
साफ यु-१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुनेछ ।
समूह ‘बी’ को नेपालले मे ११ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतसँग खेल्नेछ ।
अर्को समूहमा बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।
नेपालले उमेर समूहको यो प्रतियोगितामा दुई पटक उपाधि जितेको छ । २०१५ मा घरेलु भूमिमा भएको च्याम्पियनसिपमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलो संस्करणको उपाधि जितेको थियो ।
नेपाली टोली
गोलकिपरः भक्तबहादुर परियार, विशेष बानियाँ, उपेन्द्र लवान
रक्षकः रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, सिद्धान्त खड्का
मिडफिल्डरः कृष्णबहादुर आले, कृष थापामगर, सरोज दर्लामी, लच्छु थापा, सविनकुमार लुंगेलीमगर, रञ्जित लामा, पवन पाख्रिन, विज्ञान खड्का
फरवार्डः सुवास बम, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ, विजय उर्वा