काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाविरुद्ध ५-० को सानदार जित निकाल्दै दक्षिणकाली नगरपालिकाले विजयी सुरुआत गरेको छ ।
जितसँगै समूह ‘सी’ को दक्षिणकालीले तीन अंक जोडेको छ । कागेश्वरीको भने सुरुआत सुखद हुन सकेन ।
सोमबार गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा दक्षिणकालीलाई जित दिलाउन अमित तामाङले ह्याट्रिक पूरा गर्दा कप्तान नवीन कमचार्यले दुई गोल थपे ।
खेलको चौथो मिनेटमै अमितको गोलमार्फत दक्षिणकालीले अग्रता लिएको थियो । २१औं मिनेटमा नवीनले टोलीको अग्रता दोब्बर बनाए ।

अमीतले २३औं मिनेटमा व्यक्तित दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ६१औं मिनेटमा अमितले ह्याट्रिक पूरा गरे । जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो ।
यसअघि उद्घाटन खेलमा आयोजक गोदावरी नगरपालिकाका अरुण लामाले महालक्ष्मी नगरपालिकाविरुद्ध चार गोल गरेका थिए ।
नवीनले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै दक्षिणकालीलाई ५-० को सहज जित दिलाए ।
यसअघि सोमबारै च्यासल मैदानमा सम्पन्न खेलमा ललितपुर महानगरपालिकाले बागमती गाउँपालिकाविरुद्ध ७-३ को सहज जित दर्ता गर्यो ।