काठमाडौं । साबिक विजेता काठमाडौं महानगरपालिकाले उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा सोमबार चाँगुनारायण नगरपालिकाविरुद्ध ५-० को सहज जित निकालेको छ ।
यससँगै सुखद सुरुआत गरेको काठमाडौंले समूह ‘बी’ मा तीन अंक जोड्यो । चाँगुनायराणले भने राम्रो सुरुआत गर्न सकेन ।
सातदोबाटोस्थित एन्फा मुख्यलय मैदानमा काठमाडौंलाई जित दिलाउन राज पौडेल, आखिलेश कार्की, कप्तान विराज महर्जन, सरोज तामाङ र मनिष सोढाईले गोल गरे ।
खेलको २१औं मिनेटमा राजको गोलमार्फत काठमाडौंले अग्रता लिएको थियो । ३८औं मिनेटमा अखिलेशले टोलीको अग्रता दोब्बर बनाए ।
विराजले ४०औं मिनेटमा काठमाडौंका लागि तेस्रो गोल गरे । ६३औं मिनेटमा सरोजले गोल गर्दा काठमाडौंको अग्रता ४-० मा पुग्यो ।
मनिषले ८२औं मिनेटमा गोल गर्दै काठमाडौंलाई ५-० को सानदार जित दिलाए ।
यो खेल आइतबार गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा हुने तय थियो तर वर्षाका कारण खेलाउन सम्भवन नभएपछि आज सातदोबाटोमा सञ्चालन गरिएको हो ।
सोमबारै सम्पन्न अन्य खेलमा ललितपुर महानगरपालिकाले बागमती गाउँपालिकाविरुद्ध ७-३ तथा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकाविरुद्ध ५-० को सहज जित दर्ता गरे ।