काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई आगामी २६ वैशाखमा हुने साधारणसभामा सहभागिता जनाउनबाट नरोक्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ ।
आइतबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टको एकल इजलासले थापालाई साधारणसभामा नरोक्न र सहभागी हुन दिन एन्फाविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।
थापाले आफूलाई साधारणसभामा रोक्ने प्रयास भएको भन्दै पाटन उच्च अदालतमा शुक्रबार रिट दायर गरेका थिए ।
थापा फिफाको १० वर्षको प्रतिबन्ध फुकुवा भएपछि पहिलो पटक एन्फाको औपचारिक कार्यक्रममा सहभागी हुँदैछन् । उनी सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब आरसी ३२ को सदस्यको रुपमा साधारणसभामा सहभागी हुन लागेका छन् ।
थापाले फिफाको प्रतिबन्ध सकिनेवित्तिकै यही वर्षबाट आफू एन्फाको साधारणसभामा सहभागी हुने दाबी गर्दै आएका थिए ।
एन्फाको वार्षिक साधारणसभा यही २६ गते शुक्रबार धुलिखेलमा हुँदैछ । त्यसमा सहभागिताका लागि थापाले प्रयास गर्दै आएका थिए भने एन्फा नेतृत्वले भने उनलाई रोक्नका लागि प्रयास गरिरहेको थियो ।

थापालाई साधारणसभामा रोक्ने प्रयासमा रहेको एन्फाका एक पदाधिकारीले अदालतको निर्णयबारे आफूलाई कुनै जानकारी नभएको बताए ।
‘अदालतले आदेश जारी गरेको भन्ने विषयमा एन्फालाई कुनै जानकारी छैन । एन्फा आफ्नो विधान, फिफा र एएफसीको गाइडलाइन र देशको कानुनअनुसार चल्ने संस्था हो,’ एन्फाका ती पदाधिकारीले खेलाडी डटकमसँग भने, ‘साधारणसभामा जनाउने व्यक्तिको नाम गौण कुरा हो । साधारणसभामा एन्फाको विधानअनुसार सदस्य संस्थाका आधिकारिक प्रतिनिधिले भाग लिने हो । मुख्य कुरा व्यक्तिभन्दा पनि विधि र विधानको हो ।’