समूह ए

कतारलाई सहज छैन

कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड्स

दोस्रो खेलः सेनेगलविरुद्ध नेदरल्यान्ड्स, २१ नोभेम्बर, अल थुमाना रंगशाला (दोहा)
तेस्रो खेलः कतारविरुद्ध सेनेगल, २५ नोभेम्बर, अल थुमाना रंगशाला (दोहा)
चौथो खेलः नेदरल्यान्ड्सविरुद्ध इक्वेडर, २५ नोभेम्बर, खलिफा अन्तर्राष्ट्रिय रंगशाला (अल रायन)
पाँचौं खेलः इक्वेडरविरुद्ध सेनेगल, खलिफा अन्तर्राष्ट्रिय रंगशाला (अल रायन) 
छैटाैं खेलः नेदरल्यान्ड्सविरुद्ध कतार, अल बेट रंगशाला (अल खोर)

विश्वकपलाई लिएर अनगिन्ती तथ्य र तथ्यांक छन् । त्यसमध्ये एक हो दक्षिण अफ्रिकाबाहेक कुनै पनि आयोजक टिम विश्वकपको समूह चरणबाटै बाहिरिएका छैनन् । यो तथ्यमाथि कतार घोत्लिने छ वा बिर्सिएर अघि बढ्नेछ ? अहिल्यै अनुमान गर्न सकिँदैन । तर के चाहिँ सत्य हो भने कतार सजिलो समूहमा परेको छैन । उसो त विश्वकपमा कुन समूह सजिलो होला र ? 

फिफा वरीयतामा ५० औं स्थानमा (यो सामग्री तयार पार्दासम्म) रहेको कतारका लागि यो पहिलो विश्वकप सहभागिता हुनेछ । कतारले सन् १९७८ देखि प्रत्येक विश्वकप छनोटमा भाग लिँदै आएको छ । तर विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको छनोट चरण खाडीको यो टिमले कहिल्यै पार गर्न सकेन । 

एसियाली फुटबलमै पनि कतार पहिलो श्रेणीको टिमका रूपमा स्थापित भइसकेको छैन । तर, त्यो बाटोमा टोली लम्किरहेको छ । यसको उदाहरण हो सन् २०१९ को एसियन कप । त्यतिबेला कतारले फाइनलमा जापानलाई ३–१ ले पराजित गरेको थियो । 

त्यही एसियन कप नै कतारले जितेको एकमात्र मुख्य अन्तर्राष्ट्रिय उपाधि हो । सन् २०१९ मा एसियाली च्याम्पियन कतारलाई दक्षिण अमेरिकाको महादेशीय प्रतियोगिता कोपा अमेरिका खेल्न निम्तो दिइयो । अर्जेन्टिना र कोलम्बिया जस्ता बलिया टिम भएको समूहमा परेको कतारले जम्मा १ अंकमात्र बटुल्न सक्यो । 

सन् २०२० मा कतारले उत्तर तथा मध्य अमेरिकाको कन्काकाफ गोल्डकप खेल्ने अवसर पायो । त्यहाँ भने कतार सेमिफाइनलसम्म पुग्यो । अमेरिकासँग कतारी टिम पराजित ग¥यो । आयोजक भएकाले छनोट नखेली विश्वकपका लागि छानिएकोकतारले विगत केही वर्षदेखि तयारीस्वरुप अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेको हो ।  

पछिल्लो समय कतारले खेलेको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता अरब कप २०२१ हो । आफैंले आयोजना गरेको यो प्रतियोगितामा कतार तेस्रो बन्यो । सन् २०२२ मा कतारले मैत्रीपूर्ण खेल नै ११ वटा खेलिसकेको छ । त्यसमध्ये पाँचमा जित, दुईमा हार र चारमा बराबरीको नतिजा निकालेको छ । 

स्पेनका फेलिक्स सान्चेज जुलाई २०१७ देखि कतारको मुख्य प्रशिक्षक रहँदै आएका छन् । उनी कतारी सिनियर टिमको मुख्य प्रशिक्षक बन्नुअघि उनको काँधमा उमेर समूह टिमको जिम्मेवारी थियो । बार्सिलोना, कतारकै अस्पायर एकेडेमी हुँदै कतारी राष्ट्रिय टिमसँग जोडिएका फेलिक्सको प्रशिक्षण दुनियाँमा ठूलो नाम भने छैन । 

कतारी टिममा रहेका सबै खेलाडी घरेलु लिग खेल्छन् । कप्तान तथा फरवार्ड हसन अल हेयडोस, मिडफिल्डर करिम बौडियाफ, रक्षक अब्देल करिम हसन कतारका सबैभन्दा अनुभवी खेलाडी हुन् । अल्मोइज अली कतारी टिमका ‘प्लेयर्स टु वाच’ मा पर्छन् । 

यो समूहको सबैभन्दा बलियो टिम नेदरल्यान्ड्स हो । तीन पटक विश्वकप उपविजेता बनिसकेको डच टोली निश्चय पनि विश्व फुटबलको अभागी टिम हो । उसले लगातार दुई फाइनलमा पराजय भोगेको छ । सन् १९७४ मा तत्कालीन पश्चिम जर्मनीसँग २–१ ले हारेको नेदरल्यान्ड्स चार वर्षपछि अर्जेन्टिनासँग ३–१ ले पराजित भएको थियो । 

त्यसपछिका दुई संस्करणमा छनोट नै नभएको नेदरल्यान्ड्सले लगातार तीन विश्वकप खेल्यो । नतिजा यसप्रकार रह्यो, सन् १९९० मा अन्तिम १६, सन् १९९४ क्वाटरफाइनल र सन् १९९८ सेमिफाइनल । सन् २००२ को विश्वकप एसियाका जापान र दक्षिण कोरियाले आयोजना गर्दा नेदरल्यान्ड्स छुट्यो । 

युरोपमै भएको सन् २००६ को विश्वकपमा फर्किंदा अन्तिम १६ सम्म पुगेको नेदरल्यान्ड्सलाई चार वर्षपछि अफ्रिकी भूमि फाप र अफाप दुवै साबित भयो । फाप यसअर्थमा नेदरल्यान्ड्स फाइनलमा पुग्यो । तर फाइनलमा स्पेनसँग हारेपछि नेदरल्यान्ड्स फेरि एकपटक उपविजेतामा सीमित भयो ।  

विश्वकप २०१४ मा भने नेदरल्यान्ड्स फाइनलभन्दा एक कदम पछाडि रह्यो । आयोजक ब्राजिललाई पन्छाएर तेस्रो भयो । युरो २०१६ मा छनोट नभएको नेदरल्यान्ड्स दुई वर्षपछि विश्वकपमा पनि अनुपस्थित रह्यो । 

कतारमा हुन लागेको विश्वकपका लागि मार्च २०२१ देखि छनोट खेल्न थालेको थियो । तर पहिलो खेलमा टर्कीसँग ४–२ ले पराजित भएपछि नेदरल्यान्ड्स एक्कासि दबाबमा प¥यो । युरोपतर्फको छनोटमा समूह ‘जी’ मा रहेको नेदरल्यान्ड्सले त्यसपछिका दुई खेल आरामले जित्यो । छनोटका सुरुवाती तीनमध्ये दुई खेलमा जित दिलाएका मुख्य प्रशिक्षक फ्रान्क डी बोरले युरो २०२० को प्रदर्शनका आधारमा पदत्याग गरे । 

सन् २०२१ को जुनमा भएको युरोमा नेदरल्यान्ड्सको यात्रा अन्तिम १६ मै सकिएको थियो । डी बोरको बहिर्गमनसँगै अनुभवी लुइस भान गाल मुख्य प्रशिक्षक बनेर फर्किए । भान गालका लागि यो नेदरल्यान्ड्ससँगको दोस्रो विश्वकप हुनेछ । ब्राजिलमा नेदरल्यान्ड्सलाई तेस्रो बनाएका भान हाल यसपल्ट उत्साही छन् । यसको कारण उनको प्रशिक्षणमा नेदरल्यान्ड्सले गरिरहेको प्रदर्शन हो । समूह विजेता बनेर विश्वकपमा छनोट भएको नेदरल्यान्ड्सले भान हालको प्रशिक्षणमा एकै खेल हारेको छैन । 

जारी नेसन्स लिगमा ६ खेलमध्ये ५ मा जित हासिल गरेर सेमिफाइनलमा पुगेको नेदरल्यान्ड्स विश्वकप २०२२ को उपाधि दाबेदार हो । विश्वकप छनोटका १० खेलमा ३३ गोल गर्दा ८ गोल खाएको नेदरल्यान्ड्स सन्तुलित र आत्मविश्वासी छ । यसको कारण टिममा रहेका नाम चलेका खेलाडी हुन् । 

नेदरल्यान्ड्सले विश्वकपमा कप्तान तथा लिभरपुल स्टार भर्जिल भान डाइक र बायर्न म्युनिखका म्याथिस डी लिग्टको जोडीलाई सेन्ट्रल डिफेन्समा खेलाउने योजना बनाएको छ । इन्टर मिलानका स्टेभन डी भ्रिज, म्यानचेस्टर सिटीका नाथन आके जस्ता रक्षक पनि डच टिमसँग हुनेछन् । 

बार्सिलोनाका फ्रान्क डी जोङ, अयाक्सका डेभी क्लासन र स्टिकभन बेर्गुइस, बायर्नका रायन ग्राभेन बेर्चलगायतका प्रभावशाली मिडफिल्डर नेदरल्यान्ड्ससँग छ । डच टिमका लागि सर्वाधिक गोल गर्ने सूचीको दोस्रो स्थानमा रहेको मेम्पिस डिपे, अयाक्सका स्टिभन बर्गवाइन, बोरुसिया डर्टमन्डका डोनयेल मालेन आदिले नेदरल्यान्ड्सको अग्रपंक्ति सम्हाल्नेछन् । 

विश्वकप इतिहासमा कुनै पनि अफ्रिकी टिम सेमिफाइनलमा पुग्न सकेका छैनन् । क्यामरुन, घाना र सेनेगलले तय गरेको क्वाटरफाइनल यात्रा नै अफ्रिकी फुटबलले विश्वकपमा हासिल गरेको सबैभन्दा ठूलो सफलता हो । 
यस्तोमा यसपल्ट अफ्रिकी टिमको लक्ष्य हुनेछ कम्तीमा सेमिफाइनल । यो लक्ष्यमा सफल हुने सम्भावना बोकेको कुनै अफ्रिकी टिम छ भने त्यो सेनेगल हो । सेनेगल गत जनवरीमा भएको अफ्रिकन कप अफ नेसन्स विजेता हो । यसअघिको संस्करणमा पनि सेनेगल फाइनलमा पुगेको थियो । महादेशीय प्रतियोगितामा लगातार दुई पटक फाइनल खेल्नुको सन्देश यही हो, सेनेगल क्रमशः बलियो टिम बन्दै गइरहेको छ । 

सेनेगलको स्तर मापन गर्ने अर्को आधार हो विश्वकप छनोटमा लगातारको सफलता । सन् २००२ मा पहिलो पटक विश्वकप खेल्दा क्वाटरफाइनलमा पुगेको सेनेगल त्यसपछिका तीन संस्करणमा छानिएन । तर सन् २०१८ मा भने सेनेगलले पुनरागमन ग¥यो । यसपल्ट त छनोटमा एकै खेल नहारी विश्वकपमा स्थान बनाउन सफल भएको हो । त्यसपछि महादेशीय प्लेअफमा बलियो इजिप्टलाई पन्छायो । 

गत फेब्रुअरीमा अफ्रिकन कप अफ नेसन्स जितेकाले पनि सेनेगल अफ्रिकी महादेशको सबैभन्दा बलियो प्रतिनिधि हो । त्यसअघिको संस्करणको पनि फाइनलमा पुगेको सेनेगलले केही वर्षयता स्थिर प्रदर्शन गरिरहेको छ । 
सेनेगलका प्रशिक्षक एलिउ सिसे सामान्यतया ४–३–३ को संरचना प्रयोग गर्छन् । सन् २०१५ देखि सेनेगलको प्रशिक्षक रहेका सिसेका लागि साडियो माने मुख्य हतियार हुन् । लिभरपुलबाट इंग्लिस प्रिमियर लिग र च्याम्पियन्स लिग जितेर बायर्न म्युनिख पुगेका मानेले सेनेगलका लागि ९२ खेलमा ३३ गोल गरेका छन् । उनी सेनेगलका उच्च गोलकर्ता हुन् । 

मानेले प्रिमियर लिग छाडे पनि सेनेगलका कयौं मुख्य खेलाडी त्यही छन् । कप्तान कालिडो काउलीबेली, गोलरक्षक एडुवार्ड मेन्डी चेल्सीबाट प्रिमियर लिग खेल्छन् । एभरटनका इद्रिसा ग्वे, लेस्टर सिटीका नाम्पालिस मेन्डी, नटिङघम फरेस्टका मौसा नियाखाटेलगायतका खेलाडी सेनेगलका महत्त्वपूर्ण सदस्य हुन् । बौउलाए डिया सेनेगलका लागि सरप्राइज प्याकेज बन्न सक्छन् । हाल सालेरनिटानाबाट सिरी ए खेल्ने २५ वर्षीय डिया अग्रपंक्तिका जुनसुकै भूमिकामा खरो उत्रन सक्छन् । उनले सिरी ‘ए’ मा यो सिजन १२ खेलमा पाँच गोल गरिसकेका छन् । 

समूह ‘ए’ मा दक्षिण अमेरिकी प्रतिनिधि इक्वेडर विश्वकप छनोटलाई लिएर विवादमा तानिएको टिम हो । दक्षिण अमेरिकी छनोटमा चौथो हुँदै कतारको टिकट काटेको इक्वेडरमाथि चिली र पेरुले उजुरी हालेका थिए । इक्वेडरले विदेशी खेलाडी खेलाएको भन्दै ती दुई टिमले फिफामा उजुरी दिएका थिए । 

इक्वेडरका राइटब्याक बाइरोन कास्टिलो कोलम्बियामा जन्मिएको, इक्वेडरको राष्ट्रिय टिमबाट खेल्ने फर्जी कागजात पेस गरेको लगायतको आरोप चिली र पेरुले लगाएका थिए । इक्वेडरलाई विश्वकप खेल्न दिन नहुने माग फिफमा राखिएको थियो । तर, फिफाले यो माग खारेज गरिदिएपछि इक्वेडरको विश्वकप सहभागिता तुहिनबाट जोगिएको हो । 

इक्वेडर अर्जेन्टिनाका गुस्ताभो अल्फारोको प्रशिक्षणमा विश्वकपमा छनोट भएको हो । रुस विश्वकपमा छनोट हुन नसकेको इक्वेडरको टिममा पुनर्निर्माणको खाँचो थियो । जुन काम अल्फारोले गर्न सफल भएका छन् । 
अल्फारोले एन्टोनियो भ्यालेन्सिया, क्रिस्टियन नोबोआ, फेलिपे काइसेडो जस्ता अनुभवी खेलाडीलाई बिदा दिएर युवालाई मौका दिएका छन् । सन् २०१८ देखि २०२० को बीचमा तीन प्रशिक्षक परिवर्तन गरेको इक्वेडर अल्फारोको नेतृत्वमा स्थिर टिम बनेको छ । 

अर्जेन्टिनाको बोका जुनियर्स जस्तो ठूलो क्लबको प्रशिक्षक बनेको अनुभव संगालेका अल्फारो विपक्षीअनुसार रणनीति बनाउन माहिर छन् । उनी प्रायःजसो ४–४–२ संरचनामा आफ्नो टिम उर्ताछन् । ४–३–३, ३–५–२ उनले प्रयोग गर्ने अन्य खेल संरचना हुन् । विश्वकप छनोटका बेला अल्फारोले फरक फरक शैलीमा इक्वेडरलाई खेलाएका थिए । 

कतारमा इक्वेडरका लागि मोइसेस काइसेडो सबैभन्दा प्रभावकारी खेलाडी बन्न सक्छन् । प्रिमियर लिगको ब्राइटनबाट खेल्ने काइसेडो ‘बक्स टु बक्स’ मिडफिल्डर हुन् । ब्राइटनका प्रशिक्षक रोबर्टो डी जेब्रीले २१ वर्षीय काइसेडोलाई प्रिमियर लिगकै उत्कृष्टमध्येका मिडफिल्डर भन्ने गरेका छन् । काइसेडोसँगै ब्राइटनबाट खेले जेरेमी सार्मिएन्टो पनि इक्वेडरका लागि उपयोगी साबित हुनसक्छन् । एन्जेल मेना र एन्नर भ्यालेन्सिया इक्वेडरका सबैभन्दा अनुभवी खेलाडी हुन् । मेना लेफ्ट विंगर हुन् भने भ्यालेन्सिया सेन्ट्रल फरवार्डको भूमिकामा देखिन्छन् ।


विश्वकपमा अफ्रिकी टिमको प्रदर्शन ः 
क्यामरुन, क्वाटरफाइनल, १९९० 
घाना, क्वाटरफाइनल, २०१०
सेनेगल, क्वाटरफाइनल, २००२ 
मोरक्को, अन्तिम १६, १९८६
नाइजेरिया, अन्तिम १६, १९९४, ९८, १४
अल्जेरिया, अन्तिम १६, २०१४