वैशाख २८, २०८२ आइतबार | ०९:३२:३६
गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे

छैटौं विश्वकप उपाधिको लक्ष्यमा ब्राजिल

काठमाडौ‍ । विश्वकपका अहिलेसम्मका सबै संस्करणमा सहभागिता जनाउने एक्लो टिम ब्राजिल हो । विश्वकप इतिहासकै सफल टिम ब्राजिलले पाँच पटक उपाधि जितिसकेको छ । त्यसैले पनि ब्राजिल विश्वकभरका फुटबलप्रेमीहरुको चासोको विषय हो ।

सुन्दर फुटबल शैली, टिममा रहेका विश्वप्रसिद्ध खेलाडी र समग्र इतिहासले ब्राजिललाई विश्व फुटबलमा बेग्लै रवाफ दिएको छ । हरेक विश्वकपमा ब्राजिलको एक मात्र लक्ष्य उपाधि उचाल्ने हुने गर्छ । उपाधि जित्न नसके ब्राजिलका लागि विश्वकपको त्यो यात्रा सुन्यबराबर हुने गर्छ । त्यसैले विश्वकपमा ब्राजिलसँग उपाधि जित्नुको विकल्प हुदैन ।

तर, यहि ब्राजिलले २००२ पछि विश्वकप जित्न सकेको छैन । टोली तीन पटक अन्तिम आठ तथा एक पटक अन्तिम चारबाट बाहिरियो । ब्राजिल यसपालीको विश्वकपमा भने निक्कै आशावादी छ । विगतका गल्ती सच्याउँदै अन्तिम पटक विश्वकप खेलिरहेका सुपरस्टार नेयमारको प्रेरणामा टोली विश्वकप जित्न चाहन्छ । युवा स्टारले भरिएको टोली सन्तुलित भएकाले पनि यसपाली ब्राजिललाई कतार विश्वकपमा मुख्य दाबेदार मानिएको छ ।

पहिलो विश्वकपमा समूह चरणबाटै बाहिरिएको टोली १९३४ को दोस्रो संस्करणमा पनि दोस्रो चरण प्रवेश गर्न सकेन । सन् १९३८ को विश्वकपमा भने ब्राजिल तेस्रो भयो । सेमिफाइनलमा इटालीसँग २-१ ले पराजित भएको टोलीले तेस्रो स्थानका लागि भएको खेलमा स्वीडेनलाई उसले ४-२ ले पाखा लगाएको थियो ।

१९५० को चौथो संस्करण विश्वकप ब्राजिलमै भएको थियो । दोश्रो विश्व युद्धपछिको त्यो विश्वकपमा आयोजक ब्राजिल आफ्नो भूमिमा च्याम्पियन बन्न चाहन्थ्यो । तर, टोली फाइनलमा उरुग्वेसँग २-१ ले पराजित भयो ।

ब्राजिलले पहिलो पटक १९५८ मा विश्वकप जितेको हो । फाइनलमा आयोजक स्वीडेनलाई ५-२ को फराकिलो अन्तरले पराजित गरेर ब्राजिलले पहिलो विश्वकप उपाधि जितेको थियो ।

१९५८ को विश्वकपपछि सारा विश्वले ब्राजिल र त्यतिबेला ब्राजिललाई उपाधि जिताउन मुख्य भूमिका खेलेका पेलेलाई चिनीसकेको थियो । छिमेकी राष्ट्र चिलीले आयोजना गरेको १९६२ को विश्वकपमा सबैको नजर ब्राजिल र पेले माथि नै थियो । ब्राजिलले नै जित्ने अनुमान सबैले गरिरहेका थिए । भयो पनि त्यस्तै, चेकोस्लोभाकियालाई ३-१ ले हराउँदै ब्राजिलले उपाधि रक्षा गर्यो ।

सन् १९६६ को विश्वकपमा भने टिम समुह चरणभन्दा अगाडि बढ्न सकेन । ब्राजिलले त्यसपछि १९७० को विश्वकप जित्यो । विश्वकप इतिहासकै सबैभन्दा कान्छा कप्तानका रुपमा २५ वर्षे कार्लोस अल्बर्टोले ब्राजिलका लागि उपाधि उचाले । फाइनलमा इटालीलाई हराउँदै तेस्रो पटक उपाधि जितेको थियो ।

ब्राजिलले त्यसपछि आफ्नो चौथो विश्वकप उपाधिका लागि २४ वर्ष कुर्नुपर्यो । डुंगाको कप्तानीमा ब्राजिलले अमेरिकामा भएको १९९४ को विश्वकप जितेको थियो । यसपाली पनि फाइनलमा इटालीलाई नै निराश पार्ने क्रममा ब्राजिलले टाई ब्रेकरसम्म मेहनत गरेको थियो ।

फ्रान्समा भएको सन् १९९८ को विश्वकपमा ब्राजिल र युवा स्टार रोनाल्डो विश्वकप रक्षाका लागि तयार थियो । रोनाल्डो उच्च लयमा थिए । त्यतिबेला इन्टर मिलानका लागि व्यवसाहिक फुटबल खेलिरहेका रोनाल्डोले १९९७ को बालन डी’ओर जितेका थिए ।

उनकै प्रेरणामा ब्राजिलले समूह चरणका तीनमध्ये दुई खेल जित्यो र उसले अन्तिम १६ मा स्थान बनायो । त्यसपछि चिली, डेनमार्क र नेदरल्यान्ड्सलाई हराउँदै फाइनल पुगेको ब्राजिल उपाधि भिडन्तमा आयोजक फ्रान्ससँग ३-० ले स्तव्ध भयो ।

फाइनलको केही घन्टा अगाडि रोनाल्डो एक्कासी अस्वस्थ भए र उनलाई अस्पताल लगियो । तर खेल सुरु हुन ४० मिनेट बाँकी रहँदा रोनाल्डो अस्पतालबाट फर्किए । त्यसपछि रोनाल्डोसँगै सबै खेलाडीहरु मैदान प्रवेश गरे । ब्राजिलले विश्वकपको लामो यात्रामा धेरै सम्झिने र चुक्चुकाउने घटना हो, यो ।

तर, लगत्तै जापान र कोरियामा भएको २००२ को विश्वकपमा रोनाल्डोकै नायकत्वमा जर्मनीलाई फाइनलमा २-० ले हराउँदै ब्राजिलले आफ्नो पाचौं विश्वकप जित्यो । चार वर्ष अघि फाइनलमा सुस्त देखिएका रोनाल्डोले  यसपाली फाइनलमा दुई गोल गरे । उनले प्रतियोगिता अवधिभर कुल आठ गोल गरे । उनले क्वार्टर फाइनल बाहेक सबै खेलमा गोल गरेका थिए । त्यसयता ब्राजिलले विश्वकप जित्न सकेको छैन ।

ब्राजिल २००६ र २०१० का संस्करणमा क्वार्टरफाइनलबाट बाहिरिएको हो । २००६ को क्वार्टरफाइनलमा टिम जिनेदिन जिदानको फ्रान्स तथा २०१० मा नेदरल्यान्ड्ससँग पराजित हुँदै टोली घर फर्क्यो ।

२०१४ मा २०औं संस्करणको आयोजना ब्राजिल आफैले गर्यो । टिमलाई २००२ को विश्वकप दिलाएका प्रशिक्षक लुइज फिलिपे स्कोलारीले सम्हालिरहेका थिए । टिम युवा खेलाडीले भरिएको थियो । तर, ब्राजिल आफ्नो भूमिमा भएको विश्वकपमा चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

समूह चरणमा चार गोल गरेका युवा स्टार नेयमारको प्रेरणामा टोलीले अन्तिम १६ को स्थान सुरक्षित गर्यो । त्यसपछि उसले चिलीलाई बल्ल तल्ल टाइब्रेकरमा हरायो । अन्तिम आठमा पनि उसले कोलोम्बिया विरुद्ध सङ्घर्षपुर्ण जित हासिल गर्यो । उक्त खेलमा नेयमार घाइते भए र उनले बाकी खेल गुमाउनु पर्यो ।

सेमिफाइनलमा ब्राजिलले जर्मनीसँग ७-१ को फराकिलो हार सामना गर्यो । लज्जास्पद हार पछि पुरा ब्राजिल शोकमा परिरहेको बेला आफ्नो छिमेकी देश अर्जेन्टिनाले भने फाइनलमा आफ्नो स्थान बनायो । फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा हराउँदै जर्मनीले चौथो पटक विश्वकपको उपाधि जित्यो ।

ब्राजिल पछिल्लो विश्वकपमा पनि अन्तिम आठमै बेल्जियमसँग २-१ को पराजय भोग्दै रुसबाट घर फर्कियो ।

२००२ यता लगातार भोग्दै आएका निराशामा मल्हम लगाउन छैटौं पटक विश्वकप जित्ने लक्ष्यसहित ब्राजिल फिफा वरियताको शीर्ष स्थानमा रहेर कतार जाँदैछ । तर इतिहासले यो पनि भन्छ कि,  फिफा वरियतामा पहिलो स्थानमा रहेर विश्वकप पछ्याउन हिँडेको टिमले कहिल्यै पनि उपाधि जितेको छैन ।

तर, ब्राजिलको हकमा भने यो अन्धविश्वास लागु हुँदैन । ब्राजिल, कतारमा उपाधिको मुख्य दावेदार हो । स्विट्जरल्यान्ड, सर्बिया र क्यामरुन रहेको समूहबाट माथि उठ्नु ब्राजिलको प्राथमिकता होइन । ब्राजिलको लक्ष्य त उपाधि नै दक्षिण अमेरिका लैजाने हो ।

हेर्नलायक खेलाडी

नेयमार (पेरिस सेन्ट जर्मन)

विश्व फुटबलका सुपरस्टार नेयमारले ओलम्पिक स्वर्ण वाहेक अन्तर्राष्ट्रिय फुटबलमा ठूलो उपलब्धि हासिल गर्न सकेका छैनन् ।

कतार विश्वकप आप्mनो अन्तिम रहेको कुरा नेयमारले यसअघि नै भनिसकेका छन् । यस्तोमा नेयमारले ब्राजिल फुटबलमा महान खेलाडीको छवि बनाउने हो भने विश्वकप उपाधि जित्नै पर्ने हुनेछ ।

नेयमार २०१७ यता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा आवद्ध छन् । त्यसअघि उनी स्पेनिस क्लब बार्सिलोनाबाट खेल्थे । नेयमारले व्यावसायिक फुटबलको सुरुआत भने घरेलु क्लब सान्तोषबाट गरेका थिए ।

०१० मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका नेयमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा दोस्रो स्थानमा छन् । एक सय २१ अन्तर्राष्ट्रिय खेलमा ७५ गोल गरिसकेका नेयमार तिन पटकको विश्वकप विजेता, सर्वकालीन महान खेलाडी पेले भन्दा मात्र दुई गोलले पछि छन् ।

ड्रिब्लिङ कौशल, प्लेमेकिङ क्षमता, पासिङ र फिनिसिङ फरवार्ड नेयमारको बलियो पक्ष हो । यो सिजन उनी उच्च लयमा छन् । पिएसजीका लागि यो सिजन १९ खेलमा १५ गोल गरिसकेका नेयमारले यहि लयलाई कतारमा निरन्तरता दिने हो भने ब्राजिलले विश्वकप जित्ने सम्भावना एकदमै बलियो हुनेछ । नेमारसँगै युवा स्टारहरु ग्याब्रियल मार्टिनेली, भिनिसियस जुनियर र रोड्रिगोबाट ब्राजिली टोलीले उच्च आशा राख्नेछ ।

विश्वकपमा ब्राजिल

विरुद्ध सर्बिया ( लुसेइल आइकोनिक रंगशाला )
मंसिर ८ गते, राति १२ः४५ बजे

विरुद्ध स्विट्जरल्याण्ड (रंगशाला ९७४)
मंसिर १२ गते, राति ९ः४५ बजे

विरुद्ध क्यामरुन ( लुसेइल आइकोनिक रंगशाला )
मंसिर १६ गते, राति १२ः४५ बजे

(एजेन्सीहरुको सहयोगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP