नेपाली क्रिकेट

हामीले जित्न बिर्सिसक्यौंः कप्तान रुविना

काठमाडौं । लगातार तीन खेलमा हार बेहोर्दै युगान्डाविरुद्धको ट्वान्टी २० क्रिकेट शृंखला गुमाएपछि नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले युवा खेलाडीबाट  आशा गरेअनुसार नतिजा नआएको प्रतिक्रिया दिएकी छिन् ।

‘सबै खेलाडीले सिनियर खेलाडीले मात्र खेल्छन् भन्ने कुरा सोच्न छोडेर व्यक्तिगत रुपमा आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ,’ उनले भनिन्, ‘खेलाडी परिवर्तन गरेर खेलिरहेका छौ । यति गर्दा पनि कुनै किसिमको नतिजा नआउनुमा कि त खेलाडीले ‘सिरियस’ लिएको छैन, कि त यो सबै इमप्याक्ट एउटा मान्छेलाई मात्र हाबी भएको हुनसक्छ ।’

नेपालले युगान्डाविरुद्धको ट्वान्टी २० श्रृंखलाअन्तर्गत बिहीबार सम्पन्न तेस्रो खेलमा ६ विकेटले पराजित हुँदै लगातार तेस्रो हार बेहोरेसँगै शृंखला गुमाएको थियो । पाँच खेलको शृंखलामा युगान्डा ३–० ले अघि छ ।

खेलपछिको बोल्दै कप्तान रुबिनाले समग्रमा तीन खेलको मुल्यांकन गर्दा ब्याटिङ र विकेट र फिल्डिङ तीनैमा नेपाल कमजोर देखिएको बताइन् । यस्तै, फिटनेसको बारेमा पनि अझै काम गर्नुपर्ने प्रतिक्रिया दिइन् ।

‘फिटनेस र फिल्डिङ महत्वपूर्ण पार्ट हो । अफ सिजन छ । सबै खेलाडीले फिटनेसमा काम गरेको भनेका थिए । हामीले त्यहीअनुसार योजना बनायौ,’ रुविनाले भनिन्, ‘सबै खेलाडीले टिमको लागि कति योगदान दिन सक्छु भन्ने सोच्नुपर्छ । सीता (रानामगर) र रुविनाले कति योगदान दिने । मुख्य कुरा भनेको फिटनेस हो, ब्याटिङ पनि हो । हामीले जित्न बिर्सिसक्यौ ।’