काठमाडौं । घरेलु टोली बंगलादेशविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला वेस्ट इन्डिजलेले आफ्नो पक्षमा पारेको छ ।
बुधबार चट्टोग्रामस्थित वीर श्रेष्ठ फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान रंगशालामा सम्पन्न दोस्रो खेलमा वेस्ट इन्डिजले १४ रनको जित निकाल्यो ।
जितसँगै वेस्ट इन्डिजले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा वेस्ट इन्डिज १६ रनले विजयी भएको थियो ।
वेस्ट इन्डिजले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको बंगलादेशले पूरै ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १३५ रनमात्रै बनाउन सक्यो ।
बंगलादेशका लागि तान्जिद हसनले ४८ बलमा समान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरे । यसैगरी कप्तान लिटोन दासले २३, जाकिर अलीले १७ र तोविद हृदयले १२ रन बनाए ।
वेस्ट इन्डिजका अकिल होसेन र रोमारियो शेफर्डले समान तीन तथा जेसन होल्डरले दुई विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान साई होपले ३६ बलमा समात तीन चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी एलिक एथानाजेले ३३ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५२, रोस्टन चेजले अविजित १७ र रोमारियो शेफर्डले १३ रन बनाए ।
दोस्रो विकेटका लागि होप र एथानाजेबीच १०५ रनको साझेदारी भएको थियो । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले तीन, नसुम अहमद रिशाद होसेनले समान दुई तथा तस्किन अमहमदले एक विकेट लिए ।
शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
