काठमाडौं । दक्षिण अफ्रिकाले ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध ५५ रनको सहज जित दर्ता गरेको छ ।
जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।
मंगलबार रावलपिन्डी क्रिकेट रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८.१ ओभरमा १३९ रनमै समेटियो ।
पाकिस्तानका लागि सइम अयुबले ३७, मोहम्मद नवाज र ३६, शाहिबजादा फरहानले २४ र उस्मान खानले १२ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि कोर्बिन बोशले चार, जर्ज लिन्डेले तीन, लिजाड विलियम्सले दुई र लुंगी एन्गिडीले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रनको योगफल तयार पारेको थियो ।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४० बलमा पाँच चौका र एक छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी जर्ज लिन्डेले ३६, टोनी डी जोर्जीले ३३, क्विनटन डी ककले २३ र कप्तान डोनोभान फरेराले १० रन बनाए ।
पाकिस्तानका लागि मोहम्मद नवाजले तीन, सइम अयुबले दुई शाहिन शाह अफ्रिदी, नसिम शाह र अब्रार अहमदले समान एक विकेट लिए ।
