काठमाडौं । अमेरिकाले आइसिसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा मंगलबार घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध चार विकेटको जित दर्ता गरेको छ ।
जारी शृंखलामा अमेरिकाको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा अमेरिकाले नेपाललाई १०६ रनले पराजित गरेको थियो ।
जितसँगै २२ खेलमा ३२ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ । पराजित युएई १७ खेलबाट ६ अंकका साथ पुछारमा छ ।
दबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युएईले प्रस्तुत गरेको २१२ रनको लक्ष्य अमेरिकाले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
अमेरिकाका लागि मिलिन्द कुमारले ८१ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी कप्तान मोनंक पटेलले ६७ बलमा पाँच चौकाको मद्दतले ५०, शुभम रन्जानेले अविजित ४६, शयन जहान्गिरले १८ र हरमित सिंहले अविजित १४ रन बनाए ।
कुमारले छैटौं विकेटका लागि रन्जानेसँग ७३ र पाँचौं विकेटका लागि पटेलसँग ५२ रनको साझेदारी गरेका थिए ।
युएईका लागि जुनैद सिद्धिकीले तीन, सिम्रनजित सिंहले दुई तथा हैदर अलीले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २११ रनको योगफल तयार पारेको थियो ।
युएईका लागि हर्षित कौशिकले ५४ बलमा चार छक्का र एक चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी कप्तान राहुल चोपराले ३६, मोहम्मद शहदादले ३४, सोएब खानले २७, मोहम्मद वसिमले २१ र हैदर अलीले १० रन बनाए ।
तेस्रो विकेटका लागि चोपरा र शहदादले ६६ रनको साझेदारी गरेका थिए ।
अमेरिकाका लागि शौरव नेत्रावल्करले तीन, जसदीप सिंह र शुभम रन्जानेले समान दुई तथा रुशिल उगारकरले एक विकेट लिए ।
