काठमाडौं । एटलेटिको मड्रिडले स्पेनिस ला लिगामा सोमबार रियाल बेटिसविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै १० खेलमा १९ अंक जोडेमो एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । पराजित बेटिस समान खेलबाट १६ अकंका साथ छैटौं स्थानमा छ ।
डे ला कार्तुजामा पाहुना टोली एट्लेटिकोलाई जित दिलाउन जिउलियानो सिमियोन र एलेक्स बेनाले गोल गरे ।
खेलको तेस्रो मिनेटमै सिमियोनको गोलमार्फत एटलेटिकोले अग्रता लिएको थियो । उनले कोकेको पासलाई पोस्टको दिशा दिए ।
पहिलो हाफमो इन्जुरी समयमा बेनाले टोलीको अग्रता दोब्बर बनाए । यस पटक जुलियन अल्भारेजले गोलको अवसर सिर्जना गरेका थिए ।
त्यसपछि थाप गोल निस्कन सकेन । यससँगै एट्लेटिकोले आफ्नो अपराजित यात्रालाई नवौं खेल सम्म कायम राखेको छ ।
एटलेटिको सिजनको पहिलो खेलमै स्पान्योलसँग २-१ ले पराजित भएको थियो । त्यसयताका ९ खेलमा टोलीले पाँच जित र चार बराबरीको नतिजा निकालेको छ ।
