काठमामाडौं । महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड प्रतिस्पर्धा गर्नेछन् ।
सोमबार सार्वजनिक भएको तालिका अनुसार उद्घाटन खेल आगामी शनिबार हुनेछ । कार्तिक १६ गते नेपाल एपिएफले भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब, कार्तिक १७ गते संकटा फुटबल क्लबले झापा फुटबल क्लबको सामना गर्नेछन् ।
यस्तै कार्तिक १८ गते त्रिभुवन आर्मीले आरएस पोखरा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको सेमिफाइनल कार्तिक १९ र २० गते हुनेछ । झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २२ गते हुनेछ ।
प्रतियोगिताका लागि ३ हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ भने १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
