काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रालीले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि एसियन पेन्ट्ससँग सह प्रायोजकका लागि सम्झौता गरेको छ ।
मंगलबार कर्णालीका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता कार्यक्रममा एसियन पेन्ट्सकोतर्फबाट मार्केटिङ सहायक प्रवन्धक अङ्किता श्रेष्ठको पनि उपस्थिति थियो ।
निर्देशक घिमिरेले एसियान पेन्ट्ससँग जोडिन पाउँदा खुसी लागेको बताए । ‘एसियन पेन्ट्सलाई जोड्न पाउँद खुसी छौं। एनपिएलको दोस्रो सिजनको लागि हामी तयार छौ,’ निर्देशक घिमिरेले भने ।
कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बोसिस्टोसँग सम्झौता नवीकरण गर्दा मार्क वाट र म्याक्स ओ’ डाउडलाई नयाँ खेलाडीका रूपमा भित्र्याएको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।
यस्तै दोस्रो सिजनमा पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । यस्तै टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
गत सिजन दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्की सोमपाल कामीसहित गुल्शनकुमार झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । यसैगरी टोलीले मिनी अक्सनबाट पवर सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी कर्णालीसँगै पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज,काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
