काठमाडौं । ग्रिम्स्बी टाउनविरुद्ध ५-० को सानदार जित निकाल्दै ब्रेन्टफोर्ड इङ्लिस फुटबल लिग कप (कारवाओ कप) को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार ब्लन्डेल पार्कमा पाहुना टोली ब्रेन्टफोर्डलाई जित दिलाउन म्याथियस जेनसन, केन लुइस पोटर, रिस नेल्सन, फाबियो कार्भाल्हो र नाथन कोलिन्सले गोल गरे ।
खेलको २२औं मिनेटमा जेनसनको गोलमार्फत ब्रेन्टफोर्डले अग्रता लिएको थियो । चार मिनेटपछि नै पोटरले टोलीको अग्रता दोब्बर बनाए ।
नेल्सनले ४३औं मिनेटमा ब्रेन्टफोर्डका लागि तेस्रो गोल गरे । ५४औं मिनेटमा कार्भाल्होले पेनाल्टीमार्फत गोल गर्दा ब्रेन्टफोर्डको अग्रता ४-० मा पुग्यो ।
कोलिन्सले ७५औं मिनेटमा गोल गरेपछि ब्रेन्टफोर्डले ५-० को एकतर्फी जित निकाल्यो ।
यसैगरी फुलहमले वाइकम्ब वान्डरर्स एफसीलाई पेनाल्टी सुटआउटमा ५-४ र कार्डिफ सिटीले रेक्सह्यामलाई २-१ ले हराउँदै अन्तिम आठको यात्रा तय गरे ।
