काठमाडौं । नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यसिफिक छनोटको आफ्नो पहिलो खेलमा बुधबार कुवेतको सामना गर्दैछ ।
खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।
हालसम्म ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपाल र कुवेत तीन पटक आमने सामने भएका छन् । जहाँ नेपालले दुई र कुवेतले एक खेल खेलेका छन् ।
यी दुईले पछिल्लो पटक गत अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा भिडेका थिए । जहाँ लिग चरणमा नेपाल तथा फाइनलमा कुवेत विजयी भएका थिए ।
आजको खेल जित्ने टोली सुपर सिक्समा पुग्ने लगभग निश्चित नै हुनेछ ।
९ टोली सहभागी रहने यस प्रतियोगिताबाट तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने ट्वान्टी-२० विश्वकपको टिकट काट्ने छन् ।
प्रतियोगितामा सहभागी हुने २० मध्ये १७ टोलीको टुंगो लागिसकेको छ। भारत र श्रीलंका आयोजकका रूपमा सिधै विश्वकपमा पुग्दा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, अफगानिस्तान र अमेरिकाले अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकप खेल्ने मौका पाएका छन् ।
यसैगरी न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड वरियाताका आधारमा विश्वकपका लागि छानिएका छन् । यता क्यानाडाले अमेरिका, नेदरल्यान्ड्स र इटालीले युरोपियन तथा जिम्बावे र नामिबियाले अफ्रिकन छनोट पार गरेर विश्वकपको यात्रा तय गरेका हुन् ।