काठमाडौं । इङ्ल्यान्डले घरेलु टोली आयरल्यान्डविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।
आइतबार द भिलेजमा सम्पन्न तेस्रो तथा अन्तिम खेलमा इङ्ल्यान्डले ६ विकेटको जित निकाल्यो ।
यससँगै इङ्ल्यान्ड तीन खेलको शृंखलामा २-० ले विजयी भयो । पहिलो खेलमा इङ्ल्यान्डले चार विकेटको जित निकाल्दै दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।
आयरल्यान्डले प्रस्तुत गरेको १५५ रनको लक्ष्य इङ्ल्यान्डले १७.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
इङ्ल्यान्डका लागि जोर्डन कोक्सले ३५ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी टम बेन्टनले अविजित ३७, फिल साल्टले २९ र कप्तान ज्याकोब बेथेलले १५ रन बनाए ।
तेस्रो विकेटका लागि कोक्स र साल्टले ५७ रनको साझेदारी गरेका थिए । आयरल्यान्डका लागि ब्यारी म्याकर्थी, क्रेइग योङ्ग, कर्टिस क्याम्फर र बेन ह्वाइटले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेको थियो ।
आयरल्यान्डका लागि ग्यारेथ डेलानीले अविजित ४८, रस अडायरले ३३, ह्यारी टेक्टरले २८ र बेन क्यालिजले २२ रन जोडे ।
इङ्ल्यान्डका लागि आदिल रासिदले तीन तथा लियम डसन र जिमी ओभरटनले समान दुई विकेट लिए ।