काठमाडौं । स्ट्राइकर ह्यारी केनको ह्याट्रिकप्रेरित बार्यन म्युनिखले शनिबार जर्मन बुन्डेसलिगामा होफेनहाइमविरुद्ध ४-१ को सानदार विजयी हासिल गर्यो । यो नतिजासँगै लिगमा बार्यनले आफ्नो शतप्रतिशत जितको यात्रालाई कायम राख्यो ।
खेलमा दुई पेनाल्टी प्रहारमा सफल भएका केनले नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । ‘बुन्देसलिगा इतिहास’मा केन लगातार १७ पेनाल्टी प्रहारमा सफल हुने खेलाडी बनेका छन् ।
केनले पहिलो हाफ सकिन एक मिनेट बाँकी रहेको अवस्थामा बार्यनलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको तेस्रो मिनेटमै केनले पेनाल्टी अवसरलाई सदुपयोग गरेपछि हान्स योकिम आबेलको नाममा रहेको १६ गोलको कीर्तिमानलाई बराबरी गरेका थिए ।
खेलको ७७औं मिनेटमा केनले अर्को ‘सेटपीस’ अवसर प्राप्त गरे । जसमा पनि उनले गल्ती गरेनन् र इतिहास रच्न सफल भए ।
आबेलले १६ पेनाल्टीको कीर्तिमान ९ सिजन खेलेर बनाएका थिए । यो ९ वर्षमा उनले फोर्चुना डुसेलडोर्फ, बोकुम र साल्काबाट व्यावसायिक फुटबल खेलेका थिए ।
यता केनले यो उपलब्धि बुन्देसलिगाको तेस्रो सिजनको चौथो खेलमा हासिल गरेका हुन् ।
खेलमा बार्यनका लागि बाँकी एक गोल इन्जुरी समयमा विंगर सर्ज गिन्याब्रीले गरेका थिए । ३-० ले पछाडि परेको स्थितिमा होफेनहाइमका लागि खेलको ८२औं मिनेटमा राइटब्याक भ्लादिमिर कोउफलले एक गोल फर्काएका थिए ।