काठमाडौं । दक्षिण अफ्रिकाले त्रिकोणात्मक ट्वान्टी-२० शृंखलामा घरेलु टोली जिम्बावेविरुद्ध सात विकेटको जित दर्ता गरेकाे छ ।
दोस्रो जितसँगै दक्षिण अफ्रिकालले तीन खेलमा चार अंक जोडेको छ । तीनै खेलमा पराजित जिम्बावे अंकविहिन छ ।
यसअघि जिम्बावेलाई पाँच विकेटले पराजित गरेकाे दक्षिण अफ्रिकाले न्युजिल्यान्डसँग २१ रनको हार बेहोरेको थियो । जिम्बावे पनि न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।
हरारे स्पोर्टस क्लबमा आइतबार जिम्बावेले प्रस्तुत गरेको १४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
दक्षिण अफ्रिकाका लागि रुबिन हर्मनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी कप्तान रस्सी भान डेर डुसेनले ४१ बलमा ६ चौकासहित अविजित ५३ र डेवाल्ड ब्रेभिसले अविजित १३ रन बनाए ।
तेस्रो विकेटका लागि डुसेन र हर्मनले १०६ रनको साझेदारी गरेका थिए । जिम्बावेका लागि टिनोटेन्डा मापोसाले दुई तथा रिचर्ड नगारवाले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो ।
जिम्बावेका लागि ब्रायन बेनेटले ४३ बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरे । यसैगरी रायन बर्लले अविजित ३६ र वेस्ली मधभेरेले १३ रन बनाए ।
चौथो विकेटका लागि बेनेट र बर्लबीच ७८ रनको साझेदारी भएको थियो । दक्षिण अफ्रिकाका लागि कोर्बिन बोशले दुई तथा लुंगी एनगिडी, नान्ड्रे बर्गर र एनकाबायोम्जी पिटरले समान एक विकेट लिए ।