काठमाडौं । घरेलु टोली इङ्ल्यान्डले भारतविरुद्ध महिला अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको दोस्रो खेलमा डकबर्थ लुइस (डिएलएस) पद्धतिका आधारमा आठ विकेटको जित दर्ता गरेको छ ।
इङ्ल्यान्डको यो जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा भारत चार विकेटले विजयी भएको थियो ।
शनिबार लर्डमा वर्षाले प्रभावित खेलमा इङ्ल्यान्डले २४ ओभरमा ११५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य इङ्ल्यान्डले २१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
इङ्ल्यान्डका लागि एमी जोनसले अविजित ४६, ट्यामी ब्युमन्टले ३४ र कप्तान नटालिया ब्रन्ट स्क्रिभरले अविजित २१ रन बनाए ।
भातरका लागि क्रान्ती गौड र स्नेह रानाले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २९ ओभरमा आठ विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि स्मृति मन्धनाले ४२, दिप्ति शर्माले अविजित ३०, हर्लिन देओलले १६ र अरुणधती रेड्डीले १४ रन बनाए ।
इङ्ल्यान्डका लागि सोफी एक्लेस्टोनले तीन, एमिली लुइस अर्लोट र लिन्सी स्मिथले समान दुई तथा चार्ली डिनले एक विकेट लिए ।
शृंखलाको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।