काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।
बिहीबार होटल हिमालयमा आयोजित एक कार्यक्रममा क्लोथिङ ब्राण्ड डेनिम एण्ड डेभिल र सन्दीप लामिछानेबीच सम्झौता भएको हो । सम्झौतामा डेनिम एण्ड डेभिलका सिइओ धनश्याम काफ्ले र सन्दीपले हस्ताक्षर गरे ।
सम्झौता अवधि तीन वर्षको रहेको सिइओ काफ्लेले जानकारी दिए । सम्झौता रकम भने खोलाइएको छैन ।
सम्झौतापछि बोल्दै सन्दीपले डेनिम एण्ड डेभिल्ससँग आफ्नो सम्बन्ध सुरुवात देखि नै रहेको र यस ब्राण्डमा जोडिरहन पाउँदा खुसी लागेको बताए ।
‘उहाँहरुसँग मेरो लामो स्टोरी छ । सन् २०१८ मा घनश्याम दाईसँग मिटिङ भएपछि सहकार्य भयो । त्यो यात्रा आफैँमा सुन्दर थियो । धेरै रमाइला पलहरु छन् । खुशीका क्षण छन् । आफुलाई पनि गर्व लाग्छ यो ब्राण्ड यहाँसम्म पुग्दा,’ सन्दीपले भने, ‘मलाई परिवार जसरी नै व्यवहार गर्नुभएको छ । यस ब्राण्डसँग जोड्न पाउँदा खुसी लागेको छ ।’

काफ्लेले सन्दीप आफैँमा ब्राण्ड भएकोले उनलाई नियुक्त गर्दा ब्राण्डलाई फाइदा पुग्ने तर्क राखे ।
‘सन्दीपको बारेमा धेरै भनिरहनुपर्दैन । उहाँ आफैँमा एक ब्राण्ड हुनुहुन्छ । सानै उमेरमा नेपाललाई विश्वमा चिनाउने खेलाडी हो,’ काफ्लेले बताए,‘सन्दीपसँग हाम्रो यो साइनिङ सेरोमनी होइन, रिसाइनिङ सेरोमनी हो । हामी धेरै खुसी छौं ।’
सन्दीपले नेपालका लागि एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा समान ६२ खेल खेलेका छन् । एकदिवसीयमा १२७ विकेट लिएका सन्दीपको नाममा ११७ ट्वान्टी-२० विकेट छ ।