काठमाडौं । एन्फा यु–१६ युथ लिगमा मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फां) मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा मछिन्द्रले अग्रतालाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो ।
खेलको तेस्रो मिनेटमा करण धामीको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ७१औं मिनेटमा पदम आले मगरको आत्मघाती गोलमा मनाङ खेलमा फर्किएको हो । त्यसपछि दुबैले केही अवसर सृजना गरेपनि गोल भने गर्न सकेनन् ।
बराबरीसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । लिगको उद्घाटन खेलमा श्री भगवती क्लबलाई २–१ ले हराएको मनाङले दोस्रो खेलमा सातदोबाटो युवा क्लबमाथि ६–० को फराकिलो जित हासिल गरेको थियो ।
लिगमा मछिन्द्रको यो दोस्रो खेल हो । पहिलो खेलमा मछिन्द्रले विभागीय टोली एपिएफ फुटबल क्लबमाथि ४–१ को विजय हासिल गरेको थियो ।