पोखरा । क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) काठमाडौंले पोखरा महानगर क्रिकेट क्लबविरुद्ध ९ विकेटको सहज जित निकाल्दै केपी ओली कप पुरुष राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको ।
जितसँगै समूह ‘ए’ मा अपराजित सिइसीले तीन खेलमा ६ अंक जोड्यो । तीनै खेलमा पराजित पोखरा अंकविहिन बन्यो ।
सोमबार पोखरा क्रिकेट खेल मैदानमा पोखराले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्य सिइसीले ४.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । सिइसीका लागि रित गौतमले ३६ र दीपेन्द्र रावतले अविजित १९ रनको योगदान गरे ।
पोखराका लागि एकमात्र विकेट सुवास बास्तोलाले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पोखरा १७.२ ओभरमा ५३ रनमै समेटियो । पोखराका कविन सापकोटाले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सिइसीका लागि दिपेन्द्र रावतले र युनिशविक्रम सिंहठकुरीले समान तीन, सूर्य तामाङले दुई तथा मनोज यादव र अशोक बोहोराले समान एक विकेट लिए ।
यही समूहको अर्को खेलमा हेटौंडा स्पोर्टस क्लबले स्याङ्जा क्रिकेट क्लबविरुद्ध पाँच विकेट जित निकालेको छ ।