काठमाडौं । अफगानिस्तान यु-१९ टोलीविरुद्धको एकदिवसीय शृंखलाको दोस्रो खेलमा आइतबार नेपाली युवा टोली एक रनले पराजित भएको छ ।
जितसँगैअफगानिस्तानले तीन खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा परेको छ । अफिगानिस्तानले शृंखलामा २-० को अग्रता बनाएको छ ।
पहिलो खेलमा अफगानिस्तान १३० रनले विजयी भएको थियो । तेस्रो खेल बुधबार हुनेछ ।
मुलपानी किकेट मैदान (माथिल्लो) मा अफगानिस्तानले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि साहिल पटेलले ११९ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे । यसैगरी अभिषेक तिवारीले २०, निरजकुमार यादवले १५ र कप्तान नरेन भट्टले १३ रन बनाए ।
अफगानिस्तानका लागि वाहिदुल्लालह जाद्रन, जाइतुल्लाह शहिन र हाफिज जाद्रनले समान दुई तथा रोहुल्लाह अरब, कप्तान महबुब खान र उजाइरुल्लाह नियाजाईले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेकाे थियाे ।
अफगानिस्तानका लागि कप्तान महबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिए । यसैगरी रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाईले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाईले ११ र खालिद अहमदजाईले १० रन बनाए ।
नेपालका लागि सन्तोष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले समान दुई तथा अभिषेक तिवारीले एक विकेट लिए ।