काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लबले पहिलो जित हासिल गरेको छ ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा ब्वाइज युनियनले मध्यपुर युथ एसोसिएसनमाथि २–० को जित हासिल गरेको हो । ब्वाइज युनियनको जितमा विनोद राई र दिव्याविक्रम चौधरीले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएका हुन् ।
पछिल्ला पाँच खेलमा तीन बराबरी र एक हार बेहोरेको ब्वाइज युनियन यो जितसँगै ६ अंक जोड्दै अंकतालिकाको सातौं स्थानमा उक्लियो । यसअघि ब्वाइज युनियन क्लब १२औं स्थानमा थियो ।
लिगमा मध्यपुरको यो तेस्रो हार हो । पाँच खेलबाट मात्र चार अंक जोडेको मध्यपुर १२औं स्थानमा झर्यो ।
सोमबार दिनको पहिलो खेलमा श्री कुमारी क्लबले बाँसबारी क्लबलाई १-० ले पराजित गर्यो ।
लिगमा मंगलबार दुई खेल हुनेछन् । जहाँ १२ अंकसहित शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज क्लबलाई अंक दूरी बढाउने अवसर हुनेछ । अपराजित प्लानिङ ब्वाइजले आठौं स्थानमा रहेको सरस्वती युवा क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १२ः१५ बजे हुनेछ ।
दोस्रो खेलमा तेस्रो स्थानको वीरगंज युनाइटेडले पुछारमा रहेको नयाँबस्तीसँग खेल्नेछ । यो खेल दिउँसो ३ः४५ बजे हुनेछ ।