काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार घरेलु टोली सनराइजर्स हैदराबादविरुद्ध सात विकेटको सहज जित दर्ता गरेको छ ।
लगातार तेस्रो जितसँगै चार खेलमा ६ अंक जोडेको गुजरात दोस्रो स्थानमा उक्लिएको छ । लगातार चौथो हार बेहोरेको हैदराबाद पाँच खेलबाट दुई अंकका साथ पुछारमा छ ।
राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदाराबादले प्रस्तुत गरेको १५३ रनको लक्ष्य गुजरातले १६.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
गुजरातका लागि कप्तान शुभमन गिलले ४३ बलमा ९ चौकाको मद्दतले अविजित ६१ रनको योगदान गरे । यसैगरी वासिङ्टन सुन्दरले ४९ र सेर्फन रादरफोर्डले अविजित ३५ रन बनाए ।
तेस्रो विकेटका लागि गिल र सुन्दरले ९० रनको साझेदारी गरे । हैदराबादका लागि मोहम्मद शमीले दुई र कप्तान प्याट कमिन्सले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रनको योगफल तयार पारेको थियो।
हैदराबादका लागि नितिशकुमार रेड्डीले ३१, हेनरिक क्लासनले २७, प्याट कमिन्सले अविजित २२ अभिषेक शर्मा अनिकेत वर्माले समान १८ र इशान किशनले १७ रन बनाए ।
चौथो विकेटका लागि रेड्डी र क्लासनले ५० रनको साझेदारी गरे । गुजरातका लागि मोहम्मद सिराजले चार तथा प्रशिद्ध कृष्ण र साई किशोरले समान दुई विकेट लिए ।