काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ ।
आइतबार दाङको देउखुरी क्रिकेट मैदानमा लुम्बिनीले बागमती प्रदेशविरुद्ध ४८ रनको जित निकाल्यो।
जितसँगै लुम्बिनीले चार खेलमा ६ अंक जोडेको छ । पराजित बागमतीको चार खेलबाट दुई अंक नै छ ।
लुम्बिनीले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमै समेटियो । बागमतीका लागि कप्तान पृथु बास्कोटाले १५ तथा आशुतोष घिरैया र सुमन सुनारले समान ११ रन बनाए ।
लुम्बिनीका लागि विप्रसन केसी र अजय चौहानले समान तीन तथा निर्मल गुरुङ र रमेश कुर्मीले समान दुई विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ३२.४ ओभरमान सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले ३३ तथा मनीष थापा र कप्तान देव खनालले समान १५ रन बनाए ।
बागमतीका लागि गौतम केसीले चार, सूर्य तामाङ र इशान पाण्डेले समान दुई तथा रिजन ढकालले एक विकेट लिए ।