काठमाडौं । तेस्रो नम्बरकी ब्याटर नान्नापत खोन्चरोएन्कको अर्धशतकप्रेरित थाइल्यान्डले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाकाे आफ्नो दोस्रो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको छ ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १०२ रनको लक्ष्य थाइल्यान्डले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
थाइल्यान्डको जितमा खोन्चरोएन्कले ५८ बलमा ६ चौकासहित अविजित ६० रन बनाइन् । त्यस्तै मध्यक्रमका ब्याटर सुवानान खियाओटोले १४ र कप्तान नरुएमोल चाइवाइले १३ रन जोडे । अन्य पाँच खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक दुई विकेट लिइन् । त्यस्तै कविता कुंवर, रुविना क्षेत्री र कविता जोशीको नाममा समान एक विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १०१ रनको योगफल खडा गरेको थियो ।
नेपालका लागि मध्यक्रमका ब्याटरद्धय कविता कुंवर र विन्दु रावलले समान २५ रनको योगदान गरे । त्यस्तै तेस्रो नम्बरमा आएकी इन्दु वर्माले १५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
थाइन्यान्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै फानिता माया र नटया बूचाथामले समान दुई विकेट लिँदा एक विकेट चनाइदा सुथिरुवाङको नाममा रह्यो ।
शृंखलामा थाइल्यान्डको यो लगातार दोस्रो जित हो । आफ्नो पहिलो खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो ।
नेपाल लगातार दोस्रो खेलमा पराजित भएको हो । नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध २० रनको पराजय बेहोरेको थियो ।