काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोलीले पोखरा एभेन्जर्सले आफ्नो तेस्रो विदेशी खेलाडीका रूपमा वेस्ट इन्डिजका बलर एन्डरसन फिलिपलाई अनुबन्ध गरेको छ ।
पोखराले समाजिक सञ्जालमार्फत २८ वर्षीय फिलिपलाईअनुबन्ध गरेको जानकारी दियो । फिलिपले वेस्ट इन्डिजका लागि दुई टेस्ट र पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
उनले टेस्टमा तीन र एकदिवसीय अन्तर्राष्ट्रियमा चार विकेट लिएका छन् ।
यसअघि टोलीले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई भित्र्याएको थियो ।
टोलीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् ।
पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा पोखरासँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।