काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटर छनोटका लागि ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ ।
‘ट्यालेन्ट हन्ट’ बाट चार खेलाडीलाई छनोट गरिनेछ । छनोट भएका चारमध्य एक जनाले ‘सुपरस्टार’ को उपाधि प्राप्त गर्नेछ । उक्त खेलाडीलाई लुम्बिनीको टोलीमा समावेश गरिनेछ ।
‘सुपरस्टार’ घोषित हुने खेलाडीले १ लाख रुपैयाँ पनि प्राप्त गर्नेछन् । यसैगरी बाँकी तीन खेलाडीलाई लुम्बिनीको विशेष प्रशिक्षणमा सहभागी गराइने छ ।
‘ट्यालेन्ट हन्ट’ मा सहभागी हुन इच्छुक युवा क्रिकेटरले लुम्बिनी लायन्सको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमा रहेको रजिस्ट्रेसन फारम भर्नुपर्ने हुन्छ ।
‘ट्यालेन्ट हन्ट’ मा सहभागिता जनाउनका लागि कार्तिक १८ गतेसम्म नामा दर्ता गराउनु पर्नेछ । क्लबले कार्तिक २० गते ‘ट्यान्ट हन्ट’ मा सहभागिता जनाउन पाउने खेलाडीको सूची सार्वजनिक गर्नेछ ।
ट्रायलको मिति र स्थान पनि त्यही बेला तोकिने लुम्बिनीले जनाएको छ ।
फर्च्युना हेल्थ केयरको स्वामित्वमा रहेको लुम्बिनीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा लुम्बिनीसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन् ।