काठमाडौं । द हङकङ क्रिकेट सिक्सेस खेल्ने नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोली घोषणा गर्यो ।
यसैगरी क्यानले ज्ञानेन्द्र मल्ललाई टोलीको प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । कार्तिक १६ देखि १८ सम्म हुने प्रतियोगिताको समूह ‘बी’ मा नेपालसँगै इङ्ल्यान्ड र अस्ट्रेलिया छन् ।
प्रतियोगितामा १२ राष्ट्रको सहभागीता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ, समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह ‘डी’मा श्रीलंका, बंगलादेश र ओमान छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन् ।
नेपालले कार्तिक १६ गते इङ्ल्यान्ड र कार्तिक १७ गते अस्ट्रेलियाको सामना गर्नेछ ।
सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो ।
नेपाली टोली
सन्दीप जोरा (कप्तान), विवेक यादव, नारायण जोशी, प्रतिश जिसी, लोकेश बम (विकेटकिपर), रासिद खान, दीपेन्द्र रावत
के हो क्रिकेट सिक्सेस प्रतियोगिता ?
यो पाँच ओभरको प्रतियोगिता हो । यसमा एक खेलाडीले एक ओभर मात्र बलिङ गर्न पाउने छन् ।
प्रतियोगिताको फाइनलमा भने आठ बलको एक ओभर हुनेछ । एक टोलीले ६ खेलाडी मैदान उतार्न पाउने व्यवस्था छ । यदी पाँच खेलाडी आउट भएमा अन्तिम ब्याटरले रनर राख्न पाउनेछ ।
ब्याटर ३१ रन बनाएपछि रिटायर्ड हर्ट हुनेछ तर आवश्यकता परे पुनः ब्याटिङका लागि आउन सक्छ ।
यसैगरी प्रत्येक वाइड र नो बलमा विपक्षीलाई दुई रन प्रदान गरिनुका साथै थप एक बल दिइनेछ ।