काठमाडौं । बिपी कोइराला स्मृति कप ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर, नेपालको नेक्सस रुपन्देही ११ र बंगलादेशको साइक क्रिकेटर्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
लाइफ केयर र नेक्ससले समान ६ तथा साइकले चार अंक जोडेका छन् ।
मंगलबारको पहिलो खेलमा नेक्सस साइक क्रिकेटर्सलाई सात विकेटले पराजित गर्यो । साइक क्रिकेटर्सले प्रस्तुत गरेको १२१ रनको लक्ष्य नेक्ससले १७.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
नेक्ससका लागि शंकर रानाले सर्वाधिक ३७, मिर्नाल गुङले २६, आकाश त्रिपाठीले अविजित १९, विपिनविक्रम शाहीले १६ तथा बसिर अहमदले १५ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साइक क्रिकेटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रनको योगफल तयार पारेको थियो ।
साइकका लागि मोहम्मद उमरले ३६ तथा साद मोशरफले २९ रन योगदान दिए ।
नेक्ससका लागि बसिर अहमदले चार, दिपेश कँडेल र शाहब आलमले समान दुई तथा कृष्ण कार्कीले एक विकेट लिए ।
दोश्रो खेलमा लाइफ केयरले श्रीलंकाको श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनलाई ११४ रनले पराजित गर्यो ।
लाइफ केयरले प्रस्तुत गरेको २३७ रनको पछ्याएको श्रीलंका स्टेटले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सकेन ।
श्रीलंका स्टेटका लागि विनोदले सर्वाधिक २३, थुसारा लक्षितागले २१, राज वीरले १८ तथा नानि वासुपालिले १८ रन बनाए ।
लाइफ केयरका लागि क्षितिज त्रिपाठीले चार, रोहित दांगवालले दुई तथा योगेश कुमार र दिपक पुनियाले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको लाइफ केयरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २३६ रनको योगफल तयार पारेको थियो ।
लाइफ केयरका लागि ओपनर दिपक पुनियाले ३५ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी राजेश शर्माले मात्र २८ बलमा ६ चौका र चार छक्का मद्दतले ६१, जस्मित नैनले अविजित ३३, एकांश डोबलले २८ तथा दिपांशु फोरेले २३ रन बनाए ।
श्रीलंका स्टेटका लागि रवी किरण र इन्दुमल प्रसादले समान दुई विकेट लिए ।
प्रतियोगितामा बुधबारको पहिलो खेलमा श्रीलंका स्टेट सर्भिसेस क्रिकेट एसोसिएसन र जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउने छ ।
यसैगरी लाइफ केयर क्रिकेट क्लब र साइक क्रिकेटर्सबीच दोस्रो खेल हुनेछ ।